Prakash Adhikari July 23, 2025

काठमाडौं, ७ साउन । गत चैत्र १५ गते सुरु गरेको आन्दोलनबाट राजतन्त्र पुनस्थापना गर्ने ध्वाँस दिंदै आएको राजेन्द्र लिड.देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद चुलिँदै गएको छ । अध्यक्ष लिड.देन यति भयभित,अराजक र असहिष्णु बन्दै जानुभएको छ कि पार्टीमा तर्क गर्न सक्ने,संगठन गर्नसक्ने र जनताकाबीचमा लोकप्रिय हुँदै गएका आफ्नै पार्टीका युवा नेताहरुलाई धमाधम कारवाही गर्न थाल्नुभएको छ ।

उहाँले  हालै पार्टीभित्र अनुशासनको डण्डा चलाएर पार्टीका वरिष्ठ नेताहरुलाई कारवाही गरिसक्नुभएको छ । विगतदेखि नै पार्टीमा प्रभाव भएका र बढी लोकप्रिय हुन खोजेका नेताहरुलाई जिम्मेवारी मुक्त गरेर पार्टीलाई संकुचित गराउने काम उहाँबाट हुँदै आएको हो ।

उक्त दलका एकजना महामन्त्री धवलशमशेर राणाले गत महाधिवेशनमा अध्यक्ष बन्न राजेन्द्र लिङ्देनलाई सघाएर आफूले ठूलो भूल गरेको महसुस अहिले गरिरहेको टिप्पणी बीबीसी नेपाली सेवासंग गर्नुभएको छ। उहाँलाई मुखको क्यान्सर लागेर उपचारको लागि भारत गएको बेलामा पार्टीको संगठन विभागबाट मुक्त गरिएको थियो । यसलाई पार्टीभित्रै दया,माया नभएको अमानवीय कदमको नाम दिइएको थियो ।

त्यस्तै, पार्टीमा आन्तरिक विवाद जारी रहँदा अध्यक्ष लिङ्देनले अनुशासनविपरीतका गतिविधि स्वीकार्य नहुने भन्दै नेतृत्व मन नपरेको खण्डमा महाधिवेशनसम्म पर्खन र विचार नमिलेको खण्डमा बाटो तताउन आफूसंग विमति राख्ने नेताहरुलाई धम्की दिन थाल्नुभएको छ ।

अध्यक्ष लिङ्देनले पार्टीका कतिपय वरिष्ठ नेतालाई जिम्मेवारीबाट पदमुक्त गरेपछि उक्त दलको एउटा पक्ष निर्वाचन आयोगसम्म पुगेको छ।

यो बीचमा पार्टी अध्यक्ष लिङ्देनले नियुक्त गर्नुभएको केन्द्रीय अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीले पार्टीको बृहत्तर हित र नीतिविपरीत कुनै पनि क्रियाकलाप नगर्न पार्टीका सबै तहका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

पूर्वाग्रह राखिएको आरोप

पछिल्ला दिनमा महामन्त्री राणासहित राप्रपाका कतिपय नेताहरूले सार्वजनिक रूपमा नै अध्यक्ष लिङ्देनको कार्यशैलीको आलोचना गरिरहेका छन्।

यो बीचमा राप्रपा अध्यक्षले पार्टीको अनुशासन विभाग प्रमुखमा रोशन कार्कीलाई मनोनीत गर्नुभएको थियो। उक्त कदम विधानविपरीत भएको भन्दै विगतमा अनुशासन समितिको संयोजक रहेका नवराज सुवेदी अहिले निर्वाचन आयोग पुग्नुभएको छ ।

त्यसबाहेक उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट र सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट पनि लिङ्देनले हालै पदमुक्त गर्नुभएको छ ।

ती कदमहरूप्रति सार्वजनिक रूपमा रोष व्यक्त गर्नेमा राप्रपाका महामन्त्री धवल शमशेर राणा पनि हुनुहुन्छ जसलाई अघिल्लो वर्षको असोजमा सङ्गठन विभाग प्रमुखबाट हटाइएको थियो।

बीबीसीसँग कुरा गर्दै महामन्त्री राणाले अध्यक्षको कदमले आफूहरूलाई निर्वाचन आयोग जान बाध्य बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष भनेको अभिभावक नै हो। अभिभावकले सबैलाई मिलाउनुको सट्टा आफूसँग विमति राख्ने मान्छे, आफूलाई विरोध गर्ने मान्छे हटाउन थालेपछि बाध्य भएर हामीले यो कदम चाल्नुपरेको हो। अहिले पनि पार्टीको अजेण्डा प्रति हामी सकारात्मक छौँ र काम गरिरहेका छौँ।”

(अघिल्लो महाधिवेशनमा) राजेन्द्र लिङ्देनलाई अघि सारेर मैले ठूलो भुल गरेको रहेछु। यसबारेमा म अहिलेलाई यत्ति नै भन्छु
धवल शमशेर राणा
महामन्त्री, राप्रपा

तर राप्रपा अध्यक्ष लिङ्देन उक्त आरोपको प्रतिवाद गर्नुहुन्छ। उहाँले बीबीसीसँग भन्नुभएको छ, “बाहिर आए जस्तो ठूलो समस्या होइन। यो खाली अनुशासनको र पार्टीभित्र जिम्मेवारी बाँडफाँटसँग सम्बन्धित विषय हुन्। पहिला जस्तै नेतृत्वलाई दबावमा राखेर आफू अनुकूल चलाउन खोज्ने प्रवृत्तिले शिर उठाउन खोज्छ तर त्यो प्रयत्न मात्रै हो।”

उहाँले थप्नुभयो, ‘पार्टीमा विचार मिल्छ तर नेतृत्व मन पर्दैन भने महाधिवेशनसम्म पर्खनुपर्छ। विचार नै मिल्दैन भने बाटो तताउनुपर्छ भनेर मैले भनिसकेको छु। मलाई जहाँसम्म लाग्छ, फरक विचार राख्नेहरू हुनुहुन्न। नेतृत्व चित्त नबुझेको भए महाधिवेशन नजिकै छ, महाधिवेशनको सामना गर्न तयार रहनुहोस् भनेर म आग्रह गर्न चाहन्छु।’

महाधिवेशनअघि सफाइ

राप्रपाको अहिलेको नेतृत्व २०७८ मंसिरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित भएको हो। अघिल्लो महाधिवेशनमा राप्रपा महामन्त्री राणाले अध्यक्षमा लिङ्देनलाई सघाउनुभएको थियो।

राणा भन्नुहुन्छ, “प्रजातान्त्रिक प्रणालीमा पार्टीलाई चलाउनुपर्छ भन्ने मूल्य मान्यता बोकेर हामी यहाँ आएका हौँ। पहिला पनि नेताहरूले त्यस्तो गरेनन् भनेर विमति र विवाद हुँदै आएपछि मैले नै युवा नेतृत्वलाई धेरै प्रयास गरेर जिताएको हो।”

उहाँले थप्नुभयो, “हाम्रो महाधिवेशन ५(६ महिनामा आउँदैछ। महाधिवेशनभन्दा पहिले सफाइ गर्न थालेपछि को जाने महाधिवेशनमा? यो सबैले घेर्दै गएपछि बाध्य भएर हामी निर्वाचन आयोगमा गएका हौँ। र यो कुरा बाहिर गएको हो। नत्र पार्टीभित्र नै सङ्घर्ष भइरहेको थियो।”

अघिल्लो महाधिवेशनको सहकार्य, अहिलेको कित्ताकाट

अघिल्लो महाधिवेशनमा नै आफूले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बताउने गरेका धवलसमशेर राणाले त्यसबेला आफ्ना नजिकका नातेदार पनि रहेका पशुपति शमशेर राणाले अन्तिम समयसम्म उक्त पदका लागि उम्मेदवारी दिने अडान राखेपछि आफू पछि हटेको सार्वजनिक रूपमा बताउँदै आउनुभएको छ।

हाल राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापाविरुद्ध त्यसबेला लिङ्देनलाई आफूहरूको साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्दै पूर्वराजासँग पनि छलफल गरेको राणाले हालै एउटा अन्तर्वार्तामा खुलासा गर्नुभएको थियो।

बीबीसीसँग मङ्गलवार कुरा गर्दै राणाले भन्नुभयो, “राजेन्द्र लिङ्देनलाई अघि सरेर मैल ठूलो भूल गरेको रहेछु। यसबारेमा म अहिलेलाई यत्ति नै भन्छु। हामी आफ्नो पार्टीभित्रै सङ्घर्ष गर्छौँ। यही सङ्घर्षबाट पार्टीलाई पार लगाएर अघि बढ्छौँ “, उहाँले भन्नुभयो।

राप्रपाको विधानले प्रत्येक चार वर्षमा पार्टीको महाधिवेशन हुने व्यवस्था गरेको छ।

अहिलेसम्म महाधिवेशनको मिति तय नभए पनि संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना अनि सङ्घीयता खारेजीको माग बोकेको उक्त दलले यसै वर्षभित्र महाधिवेशन गर्ने अपेक्षा राप्रपाका नेता कार्यकर्ताहरूले गरिरहेका छन्।

नेतृत्व चित्त नबुझेको भए महाधिवेशन नजिकै छ, महाधिवेशनको सामना गर्न तयार रहनुहोस्। जहिलेसम्म म नेतृत्वमा हुन्छु, पार्टीमा अनुशासन कायम गर्ने जिम्मेवारी मेरो हो
राजेन्द्र लिङ्देन
अध्यक्ष, राप्रपा

अध्यक्ष लिङ्देनले अहिले आफूले गरेका निर्णयहरूले महाधिवेशनलाई प्रभावित पार्ने उद्देश्य नराखेको बताउनुभयो।

उहाँले भन्नुभयो, “म छिटो छिटो महाधिवेशनको प्रक्रियामा समावेश हौँ र आफू आफूले पाएका जिम्मेवारीहरू पुरा गरौँ भन्ने अनुरोध गर्छु। महाधिवेशन लक्षित कुनै त्यस्तो क्रियाकलाप पार्टीभित्र गर्नुपर्ने जरुरी छैन। तर जहिलेसम्म म नेतृत्वमा हुन्छु, यसको अनुशासन कायम गर्ने जिम्मेवारी मेरो हो। त्यसकारण म त्यो पालना गराउँछु।”

लिङ्देनले बदमासी भएको खण्डमा आवश्यकता अनुसार पार्टीमा कारबाही र निलम्बन भइरहने पनि उल्लेख गर्नुभयो।

राप्रपाको पछिल्लो विवादलाई महाधिवेशन अघि दलभित्र देखा परेको शक्ति सङ्घर्षको रूपमा पनि कतिले अर्थ लगाइरहेका छन्।

महामन्त्री राणाले आगामी महाधिवेशनमा नेतृत्व दाबीबारे सरसल्लाहपछि मात्रै आफ्नोतर्फबाट निर्णय आउने बताउनुभयो ।

“साथीहरूले जे भन्छन्, म त्यसका निम्ति तयार रहनेछु। सबै साथीहरूले तैँ लड्नुपर्छ भने भने म पछाडि हट्ने मान्छे होइन। तर म एक्लै लड्छु भनेर अघि सर्ने मान्छे पनि होइन।”

अध्यक्ष लिङ्देनले महाधिवेशनको मिति घोषणा नै नभएकाले कुनै टुङ्गोमा नपुगेको भन्दै आफू पार्टीको भावी नेतृत्वको विषयमा खुल्ला रहेको बताउनुभयो।

उहाँले थप्नुभयो, “म नै अध्यक्ष हुनुपर्छ भन्ने छैन। सहमति भयो सरसल्लाह भयो र राम्रो नेतृत्व आयो भने अर्कोलाई अध्यक्ष मानेर पनि जान सकिन्छ। पद आफैँले पाउँदामात्र चल्छ, राम्रो हुन्छ भन्ने होइन। आवश्यकता पर्‍यो साथीभाइ सबैले दोहोर्‍याएर जिम्मेवारी लिँदा राम्रो हुन्छ भन्ने भयो भने फेरि जिम्मेवारी लिएर जान पनि सकिन्छ। बेला आएपछि भनिन्छ, अहिले त्यो बेला भएको छैन।”

 कमल थापासँगको सहकार्य

राप्रपा भित्रको संस्थापन र असन्तुष्ट दुवै समूहका नेताहरूलाई बीबीसीले राप्रपा नेपालसँगको सम्भावित सहकार्यबारे पनि सोधेको थियो।

महाधिवेशन अघि पार्टी एकताको सम्भावनाबारेको प्रश्नमा अध्यक्ष लिङ्देनले भन्नुभयो, “अहिले नै हामी त्यो दिशामा पुगेका छैनौँ। तर असम्भव छैन।”

महामन्त्री राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग आत्मीय सम्बन्ध रहेको बताउँदै आफू नेतृत्वमा पुगेको खण्डमा सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी र सङ्घीयता विरोधीलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताउनुभयो।

उहाँले थप्नुभयो, “अहिले कतै जाने, अरूसँग मिल्ने पार्टी फोड्ने कुनै सोच हामीमा छैन। तर भित्तैमा टास्न थाले भने के हुन्छ म भन्न सक्दिनँ। हामी अहिलेलाई पार्टीभित्रै सङ्घर्ष गर्छौँ।”

नेपालमा राजसंस्थावादी दलहरूबीच विभाजनको लामो श्रृङ्खला रहेकाले कतिपय राजनीतिक पर्यवेक्षकहरूले राप्रपाभित्र देखा परिरहेको पछिल्लो विवादलाई सामान्य मानेका बुझिन्छ।

हाल राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधिसभाको पाचौँ ठूलो दल हो र उक्त दलसँग १३ जना सांसदहरू छन्।

(स्रोतः बीबीसी न्यूज नेपाली,फणीन्द्र दाहालको रिर्पोटिड.बाट)

Share Now