Prakash Adhikari July 26, 2025

चितवन, १० साउन : नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उहाँको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहनुभएका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो । भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गर्नुभएको नेपाली कांगे्रसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिनुभयो । नेपाली कांग्रेस विभाजन हुँदा उहाँ प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति हुनुहुन्थ्यो ।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिनुभएका गुरुङ चितवन बसाइँसराइ गरी आउनुभएको हो । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गर्नुभएको थियो । गुरुङका छोरा देश बाहिर रहनुभएकाले आइतबार अन्त्येष्टि गरिने छ ।

उहाँका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उहाँका कान्छा छोरा र श्रीमती रहनुभएको छ ।

राष्ट्रपति पौडेलको श्रद्धाञ्जली

राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय गुरूङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।
राष्ट्रप्रति पौडेलले आज शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङले लोकतन्त्र स्थापना र पुनःस्थापनामामा पु¥याउनुभएको महत्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
गुरुङको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनका बेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको पनि सचिवालयले जनाएको छ । चितवन नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहनुभएका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो ।
Share Now