Prakash Adhikari July 27, 2025

 

लन्डन(संयुक्त अधिराज्य), ११ साउन। एनआरएनए युके अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै पुडासैनीले संस्थाको नेतृत्व सम्हाल्ने जिम्मा पाउनुभएको हो ।

अध्यक्ष पदमा विजयी पुडासैनीले १ हजार ४८२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धीहरू गोविन्द खरेलले ९७७ र मनिष खत्रीले ४९६ मत ल्याउनुभयो ।

निर्वाचनमा खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १ हजार ८८४ र डा रक्षा थापाले १ हजार ७२७ मत पाएर विजयी हुनुभयो । ती पदमा शम्भु अर्याल र ज्ञानेन्द्र आलेले क्रमशः १ हजार १९६ र ९६१ मत पाएर उपविजेता बन्नुभयो ।

स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कँडेल १ हजार ६०८ मत सहित विजयी बन्नुभयो । शशी कार्की १ हजार १७४ मतसहित उपविजेतामा सीमित रहनुभयो । महासचिवमा दिवाकर पाण्डेले १ हजार ६६० मत ल्याएर विजयी बन्नुभयो उहाँ प्रतिस्पर्धी पुण्य रेग्मीले १ हजार २०१ ल्याउनुभयो।

खुला सचिवमा डिएन खराल १ हजार ८७९ र कृष्ण देवकोटा २ हजार ३०९ मतसहित विजयी बन्नुभयो भने भूपाल कार्की १ हजार ३५६ मतसहित उपविजेता बन्नुभयो ।

शनिबार सम्पन्न एनआरएनए युके निर्वाचनमा ३ हजार १२ मत खसेको थियो । खसेको यो मत जम्मा ३ हजार ५ सय १ मतदाताको ८६ दशमलव ०३ प्रतिशत हो ।

अढाई दशकदेखि बेलायतमा बस्दै आउनुभएका पुडासैनी नुवाकोटको साबिक जिलिङ गाउँपालिका २, हाल बेलकोटगढी नगरपालिका ८ का स्थायी बासिन्दा हुनुहुन्छ । विगत डेढ दशकदेखि उहाँ बेलायतको स्वास्थ्य सेवा अन्तर्गत कार्यरत हुनुहुन्छ ।

उहाँले यती नेपाली एसोसिएसन युकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुँदै एनआरएनए अन्तर्राष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्यको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

Share Now