नयाँदिल्ली(भारत), १२ साउन । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम भारतको राजधानी नयाँदिल्लीमा आयोजित १० र्औ अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन तथा यात्रा सम्मान २०२५(10th International Toruism Conclave and Travel Award 2025) मा सम्मानित भएको छ ।
निगमलाई सो सम्मेलनमा नेपालको हवाईमार्गको सर्वोत्कृष्ट वायुसेवा(Best Airline on Nepal Route)को अवार्ड दिइएको छ ।
भारतको नयाँदिल्लीस्थित ला मेरिडियन होटलमा यही साउन १० गते शनिवार तद्अनुसार जुलाई २६ मा आयोजित एक भव्य समारोहमा आईसीएम ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय गुप्ता र भारत सरकारका प्रतिनिधि नासिर असलम बानीले सो सम्मान निगमका प्रतिनिधिहरुलाई प्रदान गर्नुभएको थियो।
निगमका तर्फबाट सो अवार्ड निगमका दिल्लीस्थित कार्यालयका प्रतिनिधिहरु कमल ज्ञवाली,रमन निरौला र भानुभक्त कटुवालले ग्रहण गर्नुभएको थियो ।
निगमले यो सम्मानले निगमको प्रतिष्ठा अभिबृद्धि गरेको जनाएको छ । यो सम्मानले नेपाल र भारतबीच पर्यटन प्रबर्धन र जनस्तरको सम्बन्ध सुधारमा राष्ट्रिय ध्वजाबाहकले गरेको योगदानको कदर भएको जनाउदै निगमले सुरक्षित,भरपर्दो र यात्रुमैत्री सेवा प्रदान गरिरहेको संस्थालाई थप हौसला र प्रेरणा मिलेको पनि जनाएको छ ।
प्रत्येक बर्ष पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा सेवा पुर्याउने उत्कृष्ट संस्थाहरुलाई आईटीसीटीएमा सम्मानित गर्ने गरिन्छ । यस बर्षको सम्मान कार्यक्रममा भारत सरकारका वरिष्ठ अधिकारीहरु, अग्रणी टुर अपरेटर, पर्यटन बोर्डका प्रतिनिधिहरु, भारत तथा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रका प्रतिनिधि र प्रतिष्ठित पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


















