Prakash Adhikari July 28, 2025
काठमाडौँ, १२ साउनः मधेस प्रदेशमा खानेपानी, कृषि, सिँचाइ एवम् सरसफाइका क्षेत्रमा काम गरिरहेका संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, रेडक्रसलगायतका प्रतिनिधिसँग आज सिंहदरबारमा समन्वयात्मक छलफल गरिएको छ ।
मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा त्यहाँ उत्पन्न समस्या समाधानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो छलफल आयोजना गरेको हो ।
बैठकमा सहभागी संस्थाका प्रतिनिधिले हाल क्रियाशील रहेका क्षेत्रमा गरिरहेका प्रयासका बारेमा बताउँदै बढी प्रभावित क्षेत्र बारे प्राधिकरणले जानकारी दिएमा आवश्यक सहयोग गर्न सहज हुने बताए ।
प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले हाल खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै प्राथमिकता दिइनुपर्ने स्थानका बारेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग विवरण मागिएको जानकारी गराउनुभयो ।
यही साउन १० गते शनिबार प्राधिकरणले गृहमन्त्री रमेश लेखकको विशेष उपस्थितिमा मधेसका स्थानीय तहका प्रमुख एवम् अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको थियो ।
त्यसअघि सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि प्राधिकरणले राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, रेडक्रसलाई आफ्ना कार्यक्रम आवश्यकताअनुसार परिमार्जन गरी मधेस केन्द्रित गर्न अनुरोध गरेको छ ।
गत असार २६ गते मधेस प्रदेश सरकारले र साउन ७ गते सङ्घ सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । घोषणासँगै हाल त्यस क्षेत्रमा खानेपानी र सिँचाइ व्यवस्थापन सुरु गरिएको छ ।
Share Now