Prakash Adhikari July 29, 2025

टोकियो(जापान), १३ साउन ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएन,आईसीसी)जापानको १२ औं राष्ट्रिय महाधिवेशनले सुभाष लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

एनआरएनए जापानको २०२५–२०२७ दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न आइतवार अनलाईन माध्यमबाट निर्वाचन गरिएको थियो । एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ सय ४५ (अर्थात ६७ दशमलव ४१ प्रतिशत) मत खसेको थियो ।

प्रमुख निर्वाचन आयुक्त तिलक मल्लले दिनुभएको जानकारी अनुसार निर्वाचनमा अध्यक्षका प्रत्यासी सुभाष लामिछानेले ७ हजार १ सय ५२ मत हासिल गरी विजयी बन्नुभयो भने उहाँका प्रतिद्वन्दी सिध्दार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गर्नुभयो ।

यसैगरी ६ हजार ४ सय १८ मत प्राप्त गरी वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी कृष्ण गैरे शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गर्नुभयो । यसैगरी क्षेत्रीय उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी (विश्व) ले ६ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी हरिप्रसाद कँडेलले ५ हजार ३ सय ६२ मत हासिल गर्नुभयो ।

यसैगरी तीन जना खुल्ला उपाध्यक्षहरुमा क्रमशः मुक्तिराम खनाल (विनोद) ८ हजार ७ सय २, दिलिप कँडेल ६ हजार ९ सय ४९, दीपक सुनार ६ हजार १ सय नारायण सुवेदी ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ५ हजार ७ सय ८३, रुद्र मल्ल ९मनोज० ले ३ हजार ५ सय ७२ मत प्राप्त गर्नुभयो।

यसैगरी महासचिवमा श्यामकुमार श्रेष्ठ (श्याम शितल) ले ६ हजार ३ सय ८४ मत प्राप्त गर्नुभयो भने विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत प्राप्त गरे ।

अमेरिकी कम्पनी भोताजको सिष्टमबाट भएको भर्च्युअल निर्वाचनमा आइतबार जापानका नेपालीहरुले मतदान गरेका हुन् । बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ८ बजेसम्म चलेको थियो । मतदान चलिरहँदा निर्वाचन समितिको कार्यालयमा अध्यक्षका प्रत्यासी द्वय सुभाष लामिछाने र सिध्दार्थ श्रेष्ठको प्रतिनिधि विष्णुप्रसाद सुवेदी र सचिन आचार्यका उपस्थिति रहेको निर्वाचन समितिका सदस्य(सचिव भूपिगोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त मल्लले मत परिणामको घोषणा गर्नुभएको थियो भने विजयी सबैलाई आइसीसी उपाध्यक्ष शेरचनले बधाई दिनुभएको थियो ।एनआरएन जापानको केन्द्रीय समितिका निर्विरोध चयन भएका बाहेक अन्य पदहरुका साथै नागोया क्षेत्र र क्युशु क्षेत्रको एकैदिन अनलाइन भोटिङ भएको निर्वाचन समितिका सदस्य केशर गिरीले जानकारी दिनुभएको छ ।

जापानबाट आइसीसीमा प्रतिनिधित्व गर्ने ८ जना सदस्य भने यसअघि नै निर्विरोध चयन भईसकेका छन् । निर्विरोध चयन हुनेहरुमा कृष्ण केसी, टीकाराम कँडेल, रामबहादुर खत्री, शिवहरि पौडेल, यदुराम सापकोटा, राजकुमार अधिकारी, सुमन कार्की र रामबहादुर थापा रहनुभएको छ ।

यसैगरी लेखा तथा अनुशासन समितिको संयोजकमा सचिन श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जु भण्डारी, महिला सचिव ललिता तामाङ, महिला सहकोषाध्यक्ष कामना भण्डारी, महिला संयोजक मञ्जु वन र महिला सदस्यद्वय ईश्वरी अर्याल र सन्तोषी अधिकारी र लेखा तथा अनुशासन समितिको सदस्यद्वयमा कृष्णप्रसाद कँडेल र अशोक निरौला पनि निर्विरोध चयन भईसक्नुभएको छ ।

यसै गरी एनआरएनए जापानका क्षेत्रीय कार्यसमिति क्युशुका संयोजकमा कृष्णहरि पाठक निर्वाचित हुनुभएको छ भने एनआरएनए जापान क्षेत्रीय कार्यसमिति नागोयाका संयोजकमा भने योमान देवान निर्वाचित हुनुभएको छ ।

Share Now