काठमाडौं, १८ साउन । गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालले पशुपति विकास कोषसँगको सहकार्यमा सोमबार पशुपति दर्शन निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
श्रावण महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरुलाई सेवा पुर्याउन गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालले बस सेवा विहान ५ बजे देखि संचालन गर्ने जानकारी दिएको छ ।
पहिलो नम्बरको रुट बल्खुबाट सुरु भई एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पशुपतिनाथ मन्दिरसम्म पुग्ने छ र दोस्रो नम्बरको रुट बल्खुबाट सुरु भई नयाँ बसपार्क, कलंकी, स्वयम्भु, नारायणगोपाल चोक,
चाबहिल हुँदै पशुपतिनाथ मन्दिरसम्म सेवा उपलब्ध हुने छ।
गीताप्रेस नेपाल केन्द्रले बस सेवा पूर्ण रूपमा निःशुल्क रहेको हुँदा सबै भक्तजनलाई विहान ५ बजेदेखि उपरोक्त रुटमा संचालन हुने बस सेवा प्रयोग गरी लाभ लिन अनुरोध गरेको छ ।
साउन महिनामा पशुपतिनाथ मन्दिरमा श्रद्धालुहरूको अत्यधिक भीड हुने भएकाले भीड व्यवस्थापन र भक्तजनको सुविधाका लागि यस सेवाबाट सहज र सुरक्षित रूपमा मन्दिर दर्शन गर्न सकुन भन्ने उद्देश्यले पशुपति विकास
कोषसँगको सहकार्यमा गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालको प्रायोजनमा निःशुल्क मयुर यातायात बस संचालन गरिएको छ।
केन्द्रले पशुपति विकास कोषसँगको सहकार्यमा साउन महिनाको पहिलो र दोस्रो सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म निःशुल्क मयुर यातायात बस सेवा प्रदान गरेको थियो ।
श्रावण १९ गतेको तेस्रो सोमवार र श्रावण २६ गतेको चौथो सोमबारका दिन भने सो बस सेवा बिहान ५ बजेबाट सुरु हुने भएको छ । गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालले पशुपति विकास कोषसंगको सहकार्यमा सञ्चालन गरेको निशुल्क बस सेवाले पशुपति दर्शन गर्न चाहने भक्तजनलाई निकै ठूलो सहयोग भएको बताइएको छ ।


















