देहरादून(उत्तराखण्ड,भारत) । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी अन्तर्गत धराली क्षेत्रमा आएको विनाशकारी बाढीले खीरगंगा गाउँ नै बगाएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार यो घटना मंगलबार दिउँसो १ः४५ बजे भएको हो।
बाढीका कारण धराली गाउँ पुरै प्रभावित भएको छ। स्थानीय बजार, होटल र पसलहरू ध्वस्त भएका छन् भने गाउँमा रहेका अधिकांश संरचनाहरू मलबामुनि पुरिएका छन्। बाढीको भयावह दृश्य क्यामेरामा कैद भएको र विभिन्न भिडियो तथा तस्वीरहरू सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिरहेका छन्।
उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार हालसम्म कम्तीमा ४ जनाको मृत्यु पुष्टि भएको छ भने ५० भन्दा बढी व्यक्ति बेपत्ता छन्। उहाँले दैनिक भाष्करसँग कुरा गर्दै बाढीमा धेरै मानिस बगेको आशंका गरिएको जानकारी दिनुभएको छ।
धराली गाउँ उत्तराखण्डको राजधानी देहरादूनबाट २ सय १८ किलोमिटर टाढा र धार्मिक स्थल गंगोत्री धामबाट करिब १० किलोमिटर दूरीमा अवस्थित छ। घटना लगत्तै सेना र उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।
स्थानीयहरूका अनुसार पानीको ठूलो भेल देखिएपछि मानिसहरू डरले चिच्याउन थालेका थिए। पछिल्लो दुई दिनदेखि क्षेत्रभर लगातार भारी वर्षा भइरहेकाले नदीहरूमा पानीको बहाव उच्च रहेको जनाइएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै परिस्थिति माथि नजिकबाट निगरानी भइरहेको बताउनुभएको छ। उहाँले सबै उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन निर्देशनसमेत दिनुभएको छ।
प्रभावित क्षेत्रमा अझै पनि मौसम प्रतिकूल रहेकाले थप जोखिम कायम रहेको बताइएको छ। उद्धार टोलीहरूले बेपत्ताहरूको खोजी र जीवितको सुरक्षाका लागि प्रयास जारी राखेका छन्।


















