काठमाडौँ, २१ साउन : घरेलु मैदानमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा आज १५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेकोे सूचीमा ४५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा गरेको छ । एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको क्यानले जनाएको छ ।
ती खेलाडीलाई विभिन्न श्रेण्ीमा विभाजन गरिएको छ । यसमा श्रेणी ए मा आठ खेलाडी परेका छन् । यसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् ।
त्यस्तै श्रेणी बी मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ तथा श्रेणी सी मा १०७ जना खेलाडी छन् । उक्त प्रतियोगिताको लागि यही साउन २४ गते अक्सन हुने क्यानले जनाएको छ ।
आगामी शनिवार हुने अक्सनमा श्रेणी ‘बी’ मा २३ खेलाडीको मात्र आवश्यकता छ । तर, दोस्रो चरणको अक्सनमा ‘बी’ श्रेणीमा बोली नलागेका खेलाडी स्वतः ‘सी’ श्रेणीमा झर्ने छन् । र, ‘बी’ का खेलाडीलाई ‘सी’ श्रेणीका रुपमा पनि बोली लगाउन मिल्नेछ ।
एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सुचीमा समावेश गरिएको हो ।
१ सय ५० जना खेलाडीले अन्तिम सुचीमा आफुलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए । पहिलो संस्करणको अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन् ।
कुन श्रेणीमा कति खेलाडी आवश्यक
श्रेणी ‘ए’ – ४
श्रेणी ‘बी’ – २३
श्रेणी ‘सी’ – १०
जम्मा – ३७
न्युनतम र अधिकतम मुल्य
श्रेणी ‘ए’ न्युनतम १० लाख – अधिकतम १५ लाख
श्रेणी ‘बी’ न्युनतम ५ लाख – अधिकतम १० लाख
श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख
–––


















