Prakash Adhikari August 7, 2025

काठमाडौं, २२ साउन। नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा एकैपल्ट १३ स्थान सुधार गरेको छ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औं स्थानमा पुगेको हो। नेपाल यसअघि १००औं स्थानमा थियो।

यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरीयता हो। यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको कीर्तिमान थियो।

नेपालले गत जुलाईमा उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेको थियो। उक्त खेलमा नेपालले त्यतिखेर वरीयतामा १०७औं स्थानमा रहेको लाओसलाई ९–० र १५९औं स्थानको श्रीलंकाविरुद्ध ८–० को एकतर्फी जित हासिल गरेको थियो।

निर्णायक खेलको निर्धारित समयमा वरीयतामा आफूभन्दा ४९औं स्थान माथि रहेको उज्बेकिस्तानलाई ३–३ को बराबरीमा रोकेको थियो। समान अंक र गोलअन्तर भएपछि अस्ट्रेलिया जाने टोलीको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो।

ट्राइब्रेकरमा नेपाल ४–२ ले पराजित भयो। नेपालसँग खेलेको उज्बेकिस्तानको वरीयता एक स्थान तल खस्किएको छ।

लाओस ६ स्थान तल खस्किँदै ११३औं स्थानमा पुगेको छ। श्रीलंका भने १६१औं स्थानमा छ। यो टोलीले दुई स्थान गुमाएको छ।

बंगलादेशको छलाड.

बंगलादेशी महिला फुटबल टोलीले फिफा वरीयता इतिहासकै सबैभन्दा ठूलो छलाड. मारेको छ।

पहिलोपटक २०२६ को एएफसी महिला एसियन कपका लागि छनोट भएपछि बंगलादेशले बिहीबार सार्वजनिक वरीयतामा एकैपल्ट २४ स्थान सुधार गरेको हो।

एसियन कप छनोटको समूह चरणमा बंगलादेश घरेलु टोली म्यानमार, बहराइन र तुर्कमेनिस्तानविरुद्ध सानदार जित निकाल्दै समूह विजेता बनेको थियो।

बहराइनलाई ७–० ले हराएको बंगलादेशले म्यानमारविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्यो। तुर्कमेनिस्तानमाथि पनि उसले ७–० को एकपक्षीय जित हात पारेको थियो।

प्रशिक्षक पिटर बटलरको नेतृत्वमा यो उपलब्धि हासिल गरेको बंगलादेश १२८ औं स्थानबाट एकैपल्ट १०४ औं स्थानमा पुगेको हो।

हालको अपडेटमा बंगलादेशले सबैभन्दा धेरै ८०।५१ अंक बटुलेको छ। तर, यो वरीयता भने बंगलादेशको इतिहासकै उच्चतम भने होइन। सन् २०१३ मा बंगलादेशले १०० औं स्थानसम्मको यात्रा गरिसकेको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा भने वरीयतामा भारत शीर्ष स्थानमा छ। एसियन कपमा छनोट भएको भारत ७ स्थान सुधार गर्दै ६३औं स्थानमा पुगेको छ।

८७औं स्थानको नेपाल दोस्रो र बंगलादेश तेस्रो स्थानमा छ।

Share Now