Prakash Adhikari August 8, 2025

बेइजिङ, २३ साउन (रासस/एएफपी): चीनले गाजा शहरलाई आफ्नो नियन्त्रणमा लिने इजरायलको योजनाप्रति शुक्रबार ‘गम्भीर चासो’ व्यक्त गर्दै इजरायललाई ‘आफ्ना खतरनाक कार्यहरू तत्काल रोक्न’ आग्रह गरेको छ।

“गाजा प्यालेस्टिनी जनताको हो र यो प्यालेस्टिनी भूभागको अविभाज्य भाग हो,” विदेश मन्त्रालयका प्रवक्ताले एएफपीलाई दिएको सन्देशमा भनिएको छ।

“गाजामा मानवीय सङ्कट कम गर्न र बन्धकहरूलाई मुक्त गर्नका लागि तत्काल युद्धविराम गर्नु नै सही उपाय हो,” सन्देशमा भनिएको छ ।

“गाजा द्वन्द्वको पूर्ण समाधान युद्धविराममा निर्भर गर्दछ। त्यसपछि मात्र तनाव कम गर्ने मार्ग प्रशस्त गर्न सकिन्छ र क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न सकिन्छ,” चिनियाँ प्रवक्ताद्वारा सन्देशमा भनिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रस्ताव गरेको र उहाँको सुरक्षा क्याबिनेटले स्वीकृत गरेको योजनाअन्तर्गत इजरायली सेनाले गाजा शहरलाई आफ्नो नियन्त्रणमा लिने उहाँको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाजामा युद्ध भएको झण्डै दुई वर्षपछि नेतन्याहूले यस क्षेत्रका २० लाखभन्दा बढी जनतालाई अनिकालको सङ्घारबाट फिर्ता ल्याउन र प्यालेिस्टनी लडाकूहरूले बन्धक बनाएकाहरूलाई मुक्त गर्न युद्धविरामका लागि देश र विदेशमा दबाबको सामना गरिरहेका छन्।

“गाजा पट्टीमा हमासलाई ‘परास्त’ गर्ने योजनाअन्तर्गत इजरायली सेनाले ‘गाजा शहरलाई आफ्नो नियन्त्रणमा लिने तयारी गर्नेछ र युद्धक्षेत्रबाहिरका नागरिकलाई मानवीय सहायता वितरण गर्नेछ,” प्रधानमन्त्रीको कार्यालयले भनेको छ।

बेइजिङले गाजामा जारी द्वन्द्व यथाशीघ्र अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न इच्छुक रहेको शुक्रबार जनाएको छ ।

 पुनर्विचार गर्नुपर्छ : स्टार्मर

बेलायतका प्रधानमन्त्री कीर स्टारमरले इजरायललाई गाजा सहरलाई नियन्त्रणमा लिने योजना गलत भएको भन्दै यसलाई पुनर्विचार गर्न शुक्रबार आग्रह गर्नुभएको छ ।

यो योजनाले द्वन्द्वको अन्त्य गर्न वा बन्धकहरूको रिहाइ सुरक्षित गर्न मद्दत नगरी थप रक्तपात मच्चाउने उहाँले बताउनुभएको छ ।

उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूद्वारा प्रस्तावित तथा इजरायली सुरक्षा मन्त्रिपरिषद्द्वारा अनुमोदित योजना अन्तर्गत गाजा सहरलाई ‘नियन्त्रण’मा लिने घोषणाकोे निन्दा गर्नुभएको हो ।

त्यहाँ मानवीय सङ्कटलाई उद्धृत गर्दै इजरायललाई प्यालेस्टिनी क्षेत्रमा युद्ध अन्त्यको माग गर्दै स्टार्मरको बेलायत सरकार यसको विपक्षका रहेको बताउनुभएको छ ।

गत हप्ता उहाँले बेलायतले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने वाचा गर्दै इजरायलले गाजामा युद्धविराममा सहमत नभएसम्म ‘ठोस कदम’ नचाल्ने जनाउनुभएको छ ।

प्रधानमन्त्री स्टार्मरले इजरायलको ‘गाजामा आक्रमणलाई अझ बढाउने निर्णय गलत भएको’ ठहर गर्दै यसलाई तुरुन्तै पुनर्विचार गर्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “गाजामा हरेक दिन मानवीय सङ्कट बढ्दै गएको छ र हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई भयावह र अमानवीय अवस्थामा राखिएको छ। हामीलाई युद्धविराम, मानवीय सहायतामा वृद्धि, हमासद्वारा सबै बन्धकहरूको रिहाइ र वार्ताको माध्यमबाट समाधान चाहिएको छ ।”

बेलायत र यसका सहयोगीहरूले युद्ध समाधानको लागि यस क्षेत्रमा शान्ति सुरक्षित गर्न दीर्घकालीन योजनामा काम गरिरहेको स्टर्मरले उल्लेख गर्नुभएको छ ।

दुवै पक्ष वार्तामा विश्वासका साथ संलग्न नभएको र त्यो सम्भावना पनि घट्दै गइरहेको उहाँले बताउनुभएको छ । यसैगरी दुवै पक्ष विनाशको बाटोबाट टाढा रहेमा कूटनीतिक समाधान सम्भव रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

टर्कले शुक्रबार ‘कब्जा गरिएको’ गाजा पट्टीमाथि पूर्ण सैन्य कब्जा गर्ने इजरायली सरकारको योजनालाई तुरुन्तै रोक्न आग्रह गर्नुभएको छ ।

गाजा पट्टीमा हमासलाई ‘पराजित’ गर्ने योजना अन्तर्गत, इजरायली सेनाले ‘युद्ध क्षेत्र बाहिर नागरिकमा मानवीय सहायता वितरण गर्दा गाजा सहरको नियन्त्रणको तयारी गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।

तुर्कले यो योजना ‘अन्तर्राष्ट्रिय अदालतको फैसलाको विपरीत’ भएको उल्लेख गर्दै प्यालेस्टिनीहरूको आत्म रक्षाको लागि इजरायलले आफ्नो कब्जालाई अन्त्य गरी दुई–राज्यको सहमतिमा समाधानको खोजी गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले इजरायलले यसको सट्टा ‘मानवीय सहायताको पूर्ण, निर्बाध प्रवाह’ लाई अनुमति दिनुपर्ने र प्यालेस्टिनी सशस्त्र समूहहरूले बन्धकहरूलाई बिना शर्त रिहा गर्नुपर्ने विषमा जोड दिनुभएको छ । यसै क्रममा उहाँले इजरायलले पनि हिरासतमा राखिएका प्यालेस्टिनीहरूलाई मुक्त गर्नुपर्ने बताउनुभएको छ ।

Share Now