Prakash Adhikari August 11, 2025

 

काठमाडौं, २६ साउन । कमाउदै र पढ्दै कार्यक्रम अन्तरगत कृषि तालिमका लागि इजरायल गएका कन्चनपुरका विपीन जोशीको अपहरण भएको २ वर्ष पुग्न लागेको छ ।

७ अक्टोबर २०२३ मा हमासद्धारा अपहरणमा परेका जोशीको अवस्थाको बारेमा कुनै टुंगो लाग्न सकेको छैन ।

त्यही क्रममा उहाँको खोजीको लागि जोशीकी आमा पदमा र बहिनी पुष्पा आज इजरायल प्रस्थान गर्नुभएको छ । परिवारका सदस्यहरुका अनुसार जोशीको वास्तविक अवस्था पत्ता लगाएर मात्र फर्किने अठोटसहित उहाँहरु इजरायल जानुभएको हो ।

इजराइलका राजदूत श्मुलिक आरीबासले उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाई गर्नुभएको थियो ।

तेल अबिबमा रहेको नेपाली राजदूतावासले उहाँहरुलाई राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गराउने प्रयास शुरु गरेको छ ।

२३ वर्षीय विपिन हमासले इजरायलमा सन् २०२३ अक्टोबर ७ मा आक्रमण गरी अपहरणमा पर्नुभन्दा करिब तीन हप्ताअघि मात्रै इजरायल पुग्नुभएको थियो। उहाँ दक्षिण इजरायलको एलुमिन कृषि फार्ममा कार्यरत रहँदा अपहरणमा पर्नुभएको हो ।

गत वर्ष हमासले इजरायलमाथि गरेको भीषण आक्रमणका क्रममा जोशीलाई अन्य विदेशी नागरिक र इजरायलीहरूसँगै गाजापट्टीमा बन्धक बनाइएको थियो। सोही आक्रमणमा परी सपही–६, धनुषाका आनन्द साह, घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, पाँचनली–डोटीका राजन फुलारा, बाउनिया–३ कैलालीका आशिष चौधरी, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी,मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार र लेकाम–५ दार्चुलाका दिपेशराज विष्टको मृत्यु भएको थियो ।

Share Now