-अशोक दाहाल। बीबीसी न्यूज नेपाली
काठमाडौं, ३० साउन । कुवेतमा विषाक्त मदिरा सेवनका कारण नौ जना नेपाली श्रमिकहरूको मृत्यु भएको त्यहाँ रहेका नेपाली अधिकारीले बताएका छन्।
गैरकानुनी रूपमा बिक्री हुने यस्तो मदिरा सेवन गरेको भनिएका थप १५ जना भन्दा धेरै नेपालीहरू कुवेतका विभिन्न अस्पतालमा उपचाररत रहेको जाब्रियास्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले बीबीसीलाई जानकारी दिनुभयो ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मेथनोल मिसावट गरिएको मादक पदार्थ सेवनका कारण १ सय ६० जना प्रभावित भएका छन्। मृतकको सङ्ख्या २३ पुगेको र अधिकांश एशियाली मूलका मानिसहरू रहेको मन्त्रालयले शुक्रवार एक विज्ञप्तिमार्फत् जनाएको छ।
“अधिकांश पीडितहरूलाई सघन चिकित्सा एकाइ (आईसीयू) मा भर्ना गरिएको छ। त्यहाँ भेन्टिलेटर र आपत्कालीन डायलिसिसको आवश्यक परेको छ”, कुवेतको स्वास्थ्य मन्त्रालयले भनेको छ।
नेपाली अधिकारीहरूको भनाइ
नेपालको परराष्ट्र मन्त्रालयले कुवेतमा नेपालीहरूको मृत्यु र बिरामी भएको घटनामा आवश्यक समन्वय गर्न त्यहाँस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको बताएको छ।
“दूतावासलाई आवश्यक समन्वय गर्न मन्त्रालयले भनेको छ। यो दुखद् घटनाबारे नेपाली दूतावासले नजिकबाट आवश्यक समन्वय र काम गरिरहेको छ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।
दूतावासले शुक्रवारसम्म नौ जना नेपालीको मृत्यु भएको जनाएको छ।
“तीन दिनको अवधिमा नौ जना नेपालीहरूको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ। कारण यकिन गर्न मेडिकल रिपोर्ट पर्खनुपर्ने हुन्छ। पुष्टि गर्न हामी त्यसको पर्खाइमा छौँ”, नेपाली दूतावासका श्रम सहचारी आचार्यले भन्नुभयो , “यही अवधिमा विषाक्त मदिरा सेवनका कारण नेपालीहरूको विभिन्न अस्पतालमा उपचार पनि भइरहेका कारण यही कारण मृत्यु भएको भन्ने आशङ्का छ।”
उहाँका अनुसार नेपालीहरू गएको मङ्गलवारबाट बिरामी परेका थिए।
गैरआवासीय नेपाली सङ्घका दुई समानान्तर समितिमध्ये एउटा समितिका अध्यक्ष दिलकुमार पाख्रिनले शुक्रवार वा शनिवार नै उनीहरूले मदिरा सेवन गरेको आशङ्का गरिएको बताउनुभयो।
“उनीहरूलाई लक्षण मङ्गलवारबाट मात्रै देखिए पनि त्यस्तो रक्सी शुक्रवार र शनिवारतिरै पिएको भन्ने बुझिएको छ”, पाख्रिनले भन्नुभयो।
आफूहरू नेपालीहरूको अवस्था बुझ्न अस्पताल पुगे पनि स्थानीय प्रशासनले बिरामीहरूसँग भेट गर्न अनुमति नदिएको उहाँले जानकारी दिनुभयो।
नेपाली अधिकारीहरूले स्थानीय अस्पतालमा उपचाररत केही व्यक्तिहरूसँग भेट गरेर कुराकानी गरेको दूतावासका श्रम सहचारी आचार्यले जानकारी दिनुभयो।
“हामीले केही व्यक्तिहरूलाई भेटेका छौँ। लामो कुराकानी भएको छैन। अस्पतालको प्रशासनसँग समन्वय गरेर उनीहरूको विवरण लिएका छौँ”, उहाँले भन्नुभयो।
कुवेतका स्थानीय सञ्चार माध्यमहरूले नेपालीसँगै भारतीय श्रमिकहरूको पनि विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको विवरण प्रकाशित गरेको गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घका एक प्रतिनिधिका अनुसार कुवेतमा गैरकानुनी रूपमा बिक्री हुने मदिरामा विषाक्त रसायन प्रयोग गरिँदा यसअघि पनि नेपाली श्रमिकहरूको ज्यान जाने गरेको थियो।
मदिरा प्रतिबन्धित
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष पाख्रिन आफूले चिनेका केही नेपालीहरू पनि घटनामा परेको बताउँछन्।
“पछिल्लो समय कुवेत सरकारले गैरकानुनी रूपमा मदिरा बनाउने ठाउँमा कडा जाँच र नियन्त्रण गरेका कारण मदिराको अभाव भएको थियो। त्यसरी मदिराको कारोबार गर्नेहरूले विषाक्त रसायनहरू प्रयोग गरेर मदिरा बनाएका कारण अहिलेको समस्या निम्तिएको हो”, पाख्रिन भन्नुहुन्छ. “यो भन्दा पाँच वर्ष अघि पनि नेपालीहरूसहित अरू देशका नागरिकहरूको पनि ज्यान गएको थियो। त्यस बेला मेरो एक जना आफन्त पनि पर्नुभएको थियो।”
कुवेतमा मदिरा उत्पादन र बेचबिखन पूर्ण रूपमा प्रतिबन्धित छ।
“अवैधानिक रूपमा भइरहेको कारोबारमा अनविज्ञ भएर उहाँहरू परेको हुन सक्छ”, दूतावासका श्रम सहचारी आचार्य भन्नुहुन्छ ।


















