डार्विन(अष्ट्रेलिया), ३१ साउन । अष्ट्रेलियाको नर्दन टेरिटोरी क्रिकेट (एनटी)को आयोजनामा बिहिवारदेखि डार्विन शहरमा सुरु भएको टप इण्ड टी २० सेरिज क्रिकेट प्रतियोगिता अन्तरगत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बंगलादेश ‘ए’ संग खेल्दै छ ।
नेपालको यो दोस्रो खेल हो । खेल नेपाली समय अपरान्ह २ः३० बजे सुरु हुनेछ ।
आयोजक नर्दन टेरिटरी स्ट्राईकसंग शुक्रवार भएको खेलमा नेपाल ४२ रनले पराजित भएको थियो । हिजोको खेलमा नेपालले विकेट लिन ढिलाई गर्दा नर्दन टेरिटरी स्ट्राईकले बढी रन जोड्ने अवसर पायो । खेलमा नेपालका उम्दा बलर ललित राजवंशीको अभाव खट्कियो । ब्याटिड.मा पनि नेपाली खेलाडी जम्न सकेनन् । कुशल मल्लले बनाएको ३४ रन नै सर्वाधिक रन बन्न पुग्यो । कुशल भूर्तेल, दीपेन्द्रसिंह ऐरी,कप्तान रोहित पौडेल, गुल्शन झा,आसिफ शेख जस्ता ब्याटरहरु थोरै रनमा आउट हुनु नेपाल विजय हुननसक्नुको कारण बन्यो ।
डार्विन शहरका विभिन्न रंगशालामा हुने टप इण्ड टी २० सेरिज क्रिकेटमा ११ टोलीको सहभागिता रहेको छ। सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
त्यस्तै सिरिजमा बीबीएलका हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी टोलीहरु सहभागी भएका छन् ।
स्थानीय टिम एसीटी कमेट्स पनि प्रतियोगितामा सहभागिता छ । खेलतालिका अनुसार खेलहरु ५ वटा स्थानीय मैदानमा भइरहेका छन् ।
तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान हुनेछ।
नेपालले चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३)मा खेल्नेछ । पाँचौ खेल २० अगस्ट (भदौ ४)मा मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग खेल्नेछ ।
छैटौं खेलमा अगस्ट २२ (भदौ ६) मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ ।
सेमिफाइनल र फाइनलका खेलहरु २४ अगस्ट (भदौ ८) मा हुनेछन् ।
कप्तान रोहितकुमार पौडेल नेतृत्वमा रहेको नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शाहब आलम सम्मिलित छन्।
नेपालका नामी बलर ललित राजवंशी भने आमाको निधन भएकोले यो खेलमा सहभागी हुन सकेनन् । उनको ठाउँमा नेपाल क्रिकेट संघले शाहब आलमलाई चयन गरेको हो । पहिलो खेलमा ललित राजवंशीको अभाव खट्किएको देखियो । पहिलो खेल मैदान र प्रतिस्पर्धीको आँकलनलाई परीक्षणको रुपमा लिने सहुलियत दिने हो भने पनि नेपालले आजदेखिका खेलहरुमा उच्चस्तरको प्रदर्शन गर्नुपर्ने खाँचो छ । किनकी यो नेपालको राष्ट्रिय टिम हो भने अन्य प्रतिस्पर्धी टिमहरु राष्ट्रिय टिम होइनन् ।
सिरिजमा नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहन सके नेपाल सिरिजको सेमिफाइनलमा पुग्नेछ । नेपालले पहिलो पटक यो सिरिजमा भाग लिएको हो ।



















