नयाँदिल्ली, ३ भदौ (रासस/एएनआई) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन भ्रमण गर्ने हुनुभएको छ । उहाँको भ्रमणबारे मङ्गलबार नयाँदिल्लीमा चीनका विदेशमन्त्री वाङ यीसँग भएको वार्ताका क्रममा भारतका सुरक्षा प्रमुख अजित डोभालले जानकारी दिनुभएको हो ।
मोदीले अगस्ट ३१ मा तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनको उद्घाटनमा भाग लिनुहुनेछ । यो सन् २०१८ पछि उहाँको पहिलो चीन भ्रमण हुनेछ ।
बैठकको सुरुमा डोभालले ‘प्रधानमन्त्रीको भ्रमणले भारत–चीन कूटनीतिक सम्बन्धमा नयाँ ऊर्जा दिनेछ’ भन्दै टिप्पणी गर्नुभएको थियो ।
एससिओ शिखर सम्मेलनमा मोदीको सहभागितालाई चीनले ‘विशेष महत्त्व दिने’ बताउँदै वाङ यीले भन्नुभयो, “स्वस्थ र स्थिर चीन–भारत सम्बन्धले दुवै देशको मौलिक र दीर्घकालीन हितमा काम गर्छ भन्ने कुरा इतिहास र वास्तविकताले फेरि प्रमाणित गरेको छ ।” वाङ यीले मङ्गलबारपछि मोदीलाई प्रत्यक्ष भेट्ने कार्यक्रम रहेको छ ।
विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या रहेका दुई मुलुक लामो समयदेखि दक्षिण एसियामा प्रभावका लागि प्रतिद्वन्द्वी रहँदै आएका छन् । सन् २०२० मा तिनीहरूबीच घातक सीमा द्वन्द्व समेत भएको थियो ।
भारत हाल संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानसँगको ‘क्वाड सुरक्षा गठबन्धन’ को सदस्य छ । क्वाडलाई चीनविरुद्धको कदमको रूपमा हेरिन्छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर युद्धले उत्पन्न गरेको विश्वव्यापी व्यापार र भू–राजनीतिक उथलपुथलबीच भारत र चीन दुवैले सम्बन्ध सुधारतर्फ ध्यान दिएका छन् ।
सोमबार भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँगको वार्तामा वाङ यीले भन्नुभएको थियो, “हामीले एकअर्कालाई विरोधी वा खतराको रूपमा नभई साझेदार र अवसरका रूपमा हेर्नुपर्छ ।”
दुर्लभ खनिज तत्व, मल र टनेल बोरिङ मेसिनको आवश्यकतालाई सम्बोधन गर्ने वाचा
चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज तत्व, मल र टनेल बोरिङ मेसिनको आवश्यकतालाई सम्बोधन गर्ने वाचा गरेको छ ।
स्रोतअनुसार, चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई चीनले भारतका यी तीन आवश्यकता पूरा गर्न सहयोग गर्ने आश्वासन दिनुभयो ।
चिनियाँ विदेशमन्त्री दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुग्नुभएको हो ।
यसअघि सोमबार विदेशमन्त्री जयशङ्करले आफ्नो प्रारम्भिक टिप्पणीमा ‘आर्थिक र व्यापारिक मुद्दा, तीर्थयात्रा, जनता–जनताबीचको सम्पर्क, नदी डाटा साझेदारी, सीमा व्यापार, कनेक्टिभिटी र द्विपक्षीय आदानप्रदान’ मा छलफल हुने बताउनुभएको थियो ।
उहाँहरूले यस वर्ष जुलाईमा भएको चीन भ्रमणको क्रममा उठाइएका चिन्ताहरूलाई पनि पछ्याउनुभएको थियो ।
चिनियाँ विदेशमन्त्रीसँगको भेटमा जयशङ्करले भारत–चीन सम्बन्धका विभिन्न पक्ष र आयामहरूबारे जोड दिनुभएको थियो ।
“यस सन्दर्भमा प्रतिबन्धात्मक व्यापार उपाय र अवरोधहरूबाट बच्न आवश्यक छ । भारत र चीनबीचको स्थिर र रचनात्मक सम्बन्ध हाम्रो मात्र होइन, विश्वकै फाइदाका लागि हो । आपसी सम्मान, आपसी हित र संवेदनशीलताको आधारमा सम्बन्ध सम्हालिँदा यो अझ राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “मतभेद विवाद वा प्रतिस्पर्धाको द्वन्द्वमा बदलिनु हुँदैन ।”
चिनियाँ विदेशमन्त्रीको भारत भ्रमणले दुई देशलाई द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र विश्वव्यापी अवस्था तथा आपसी हितका मुद्दामा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको उहाँले बताउनुभयो ।
पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ सेनाको गतिविधिले उत्पन्न गतिरोधपछि भारत–चीन सम्बन्ध बिग्रिएको थियो । यो गतिरोध सन् २००० अप्रिल–मेमा सुरु भएको हो, जसमा केही घर्षण विन्दुबाट सेना फिर्ता गर्ने सम्झौतापछि केही तनाव घटेको छ ।
सन् २०२४ को ब्रिक्स शिखर सम्मेलनअघि भारत र चीनले एलएसीमा गस्ती व्यवस्था गर्ने सहमति गरेका थिए ।
हालका महिनामा दुवै देशले सम्बन्ध सुधार गर्ने कदम चालेका छन् । भारतले पूर्वी लद्दाखमा एलएसीमा ‘डि–एस्केलेसन’ (तनाव घटाउने प्रक्रिया) अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
युक्रेन युद्धको समाधान खोज्ने प्रयास र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभएको करका कारण उत्पन्न भू–राजनीतिक उतारचढावबीच जयशङ्करले विश्वव्यापी अर्थतन्त्रमा स्थिरता बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट ३१ देखि सेप्टेम्बरसम्म तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने अपेक्षा गरिएको छ ।
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा : वाङ यी
चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’ मा रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले नयाँदिल्लीमा आफ्ना भारतीय समकक्षीसँगको भेटपछि मङ्गलबार प्रकाशित विवरणअनुसार बताउनुभएको छ ।
विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू दक्षिण एसियाभरि प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् र सन् २०२० मा उनीहरूबीच घातक सीमा द्वन्द्व भएको थियो ।
भारत संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानसँगको क्वाड सुरक्षा गठबन्धनको सदस्य हो । क्वाडलाई चीनले आफ्नो प्रतिरोधका रूपमा हेर्दै आएको छ ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर युद्धले निम्त्याएको विश्वव्यापी व्यापार र भूराजनीतिक उथलपुथलबीच यी दुई देश सम्बन्ध सुधारतर्फ अघि बढिरहेका छन् ।
सोमबार भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँगको वार्तामा वाङले दुई देशले एकअर्कालाई विरोधी वा खतराको सट्टा साझेदार र अवसरका रूपमा हेर्नुपर्ने बताउनुभयो ।
द्विपक्षीय सम्बन्ध ‘सहयोगको मुख्य मार्गमा फर्कने सकारात्मक प्रवृत्ति’ मा रहेको प्रमाणका रूपमा उहाँले ‘सबै तहमा वार्ता पुनः सुरु भएको’ र ‘सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम भएको’ कुरा औँल्याउनुभयो ।
वाङ आफ्नो तीन दिने भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने अपेक्षा गरिएको छ ।
भारतीय मिडियाका अनुसार मोदी यसै महिना चीनको भ्रमण गर्न सक्नुहुनेछ । यो सन् २०१८ पछि उहाँको पहिलो भ्रमण हुनेछ ।
मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसमा पाँच वर्षपछि पहिलोपटक भेट गरेपछि अक्टोबरदेखि सम्बन्धमा सुधार आएको मानिन्छ ।
चिनियाँ र भारतीय अधिकारीहरूले हालैका हप्ताहरूमा दुई देशले सन् २०२० देखि रोकिएको सीमा व्यापार पुनः सुरु गर्नेबारे छलफल गरिरहेको बताएका छन् ।
यसको पुनः प्रारम्भ प्रतीकात्मक रूपमा महत्त्वपूर्ण हुने बताइन्छ र यसपछि प्रत्यक्ष उडानहरू पुनः सुरु गर्ने तथा पर्यटक भिसा जारी गर्नेबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।


















