काठमाडौं, २४ साउन । यही अगष्ट २९ देखि मलेसियामा आयोजना हुने एसिया कप छनौट क्रिकेट प्रतियोगितामा खेल्ने १९ सदस्यीय प्रारम्भिक नेपाली टोलीका खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ।
आगामी सेप्टेम्बर ६ सम्म आयोजना हुने खेलमा कप्तान पारस खड्का, अनिलकुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित नारायण राजबंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी, सुबाश खकुरेल, सुनिल धमला र सुशन भारी रहेका छन्।
नेपाली खेलाडी शक्ति गौचनले नेदरल्याण्ड्ससंग भएको पहिलो एकदिवसीय खेलपछि क्रिकेटबाट सन्यासको घोषणा गरेको र शरद् भेषवाकरको हातमा चोट लागेको कारण उनीहरु यस पटकको टीममा नअटाएका हुन् ।
खेलाडी छनौटको काम मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले गरेका हुन्।
नेपाली टोलीलाई अगष्ट १४ तारिकबाट काठमाण्डौमा बन्द प्रशिक्षण दिइने भएको छ । बन्द प्रशिक्षणपछि अन्तिम १५ खेलाडीको नाम चयन गरिनेछ ।अगष्ट २० तारिकमा नेपाली टोलीले अभ्यासका लागि श्रीलंका प्रस्थान गर्नेछ । त्यतैबाट मलेशिया प्रस्थान गर्ने कार्यतालिका रहेको छ।
एसियन क्रिकेट काउन्सिल (एसीसी(ले एसिया कप छनौटका लागि नेपालको ब्याटिंग प्रशिक्षकका भारतका अपूर्व देसाईलाई रुपमा नियुक्त गरेको छ। उनले अगष्ट १४ बाट नेपाली टोलीसंग काम गर्नेछन्।
अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेतमा पर्नेछ ।
।
युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी एक राष्ट्र एसिया कप छनौटको विजेता रहनेछ ।
एसिया कप छनौटमा नेपालले आफ्नो पहिलो खेल २९ अगस्टमा ओमानसंग बायुमास ओभल मैदानमा खेल्नेछ। यस्तै दोश्रो खेल ३० अगस्टमा युएईसंग किनरारा ओभल मैदानमा, तेश्रो खेल १ सेप्टेम्बरमा मलेसियासंग बायुमास ओभलमा, चौथो खेल २ सेप्टेम्बरमा सिंगापुरसंग युकेएम ओभल मैदानमा तथा अन्तिम खेल हंगकंगसंग ४ सेप्टेम्बरमा खेल्ने कार्यक्रम रहेको छ।
सहभागी ६ देशले एक(अर्कासंग १र१ खेल खेलीसकेपछि लिगको बिजेता र उपविजेताले ६ सेप्टेम्बरमा किनरारा ओभल मैदानमा फाईनल खेल खेल्नेछन् जसको बिजेता एसिया कप खेल्न छनौट हुनेछ।


















