काठमाडौं, ५ भाद्र । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार धितोपत्र बजार परिसूचक ९.२२ अंक घटेर २७५७.९७ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। साताभरी घट्दो क्रममा रहेको कारोबार रकम यस दिन पनि घटेको हो। बुधबार ५ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन १ करोड ६८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्रीबाट ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन विकास हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३२ रुपैयाँ १० पैसा बढेर ३५३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। यस दिन बढेका अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ। यस दिन जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ४.६५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँको शेयर किनबेच भएको छ भने बलेफि हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको छ। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।


















