Prakash Adhikari August 22, 2025

डार्बिन(अष्ट्रेलिया) ६ भदौः अष्ट्रेलियाको नर्दन टेरिटोरीको डार्बिनमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाली राष्ट्रिय टिम र पाकिस्तान शाहिन्सबीच स्पर्धा हुँदैछ ।

शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

नेपालले हालसम्म खेलका पाँच खेलमा दुई खेल जितेको छ भने तीन खेलमा पराजित भएको छ ।

भारतमा भर्खर बन्द प्रशिक्षण सकेर आएको नेपाली राष्ट्रिय टिमले त्यहाँ उधुम मच्चाउने अपेक्षा गरिएको थियो । तर नेपालले सुरुका तीन वटा खेलमा अपेक्षित नतिजा दिन सकेन । त्यसपछिका दुई खेलमा भने नेपाल लयमा आयो र राम्रै रन अन्तरले विजय हासिल गर्यो ।

नेपालको राष्ट्रिय टिम स्थानीय टिम नर्थ टेरिटरी स्ट्राइक, बंगलादेशको टीम ए तथा मेलबर्न स्टाइकरसंग पराजित भएको थियो भने होबर्ट हुरिकेन्स र मेलबर्न रिनिगेट्लाई नेपालले पराजित गरेको थियो ।

भाद्र ४ गते भएको खेलमा सोमपाल कामीको सानदार बलिङमा नेपालले मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको थियो । सो खेलमा सोमपालले ५ विकेट लिएका थिए । जितको लागि १ सय ४० रनको सहज लक्ष्य पछाएको मेलबर्न रेनेगेड्स २० ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो।

त्यस पहिले भाद्र ३ गते भएको खेलमा नेपालले होबर्ट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको थियो । नन्दन यादवले ५ विकेट लिएको सो खेलमार्फत सिरिजमा नेपालले पहिलो जित निकालेको थियो। खेलमा १ सय ८१ को लक्ष्य पछ्याएको होबार्ट हुरिकेन्स १६.१ मा सबै विकेट गुमाएर १ सय १४ रनमा समेटिएको थियो ।

त्यसपहिलेका तीन खेलमा नेपाल लगातार पराजित भयो ।

भाद्र २ गते सम्पन्न मेलबर्न स्टार्ससंगको खेलमा नेपाल ३१ रनले पराजित भएको थिाये । जितको लागि १ सय ७६ रनको चुनौती पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रनमा समेटियो।

त्यस्तै साउन ३१ गते भएको खेलमा नेपाली राष्ट्रिय टोली बंगलादेश ‘ए’ सँग २९ रनले पराजित भएको थियो।

बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रनमा समेटियो ।

त्यस्तै ३० साउन अष्ट्रेलियाको भूमिका पहिलो पटक प्रतिस्पर्धा गरेको नेपाली टिम स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो ।

अष्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड २ भएको खेलमा स्थानीय नर्दन टेरिटोरी स्ट्राइकले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रनमा समेटिएको थियो ।

दुई खेल लगातार जितेको नेपाली राष्ट्रिय टिम पाकिस्तान शाहीन्ससँगको खेलमा पनि विजयी बन्नेमा विश्वस्त छ ।आजको खेल जितेमा नेपाल अर्को चरणमा जानसक्ने संभावना जीवित रहन्छ ।

कप्तान रोहितकुमार पौडेल नेतृत्वमा अष्ट्रेलियाको टप एन्ड टी २० क्रिकेट खेल्न डार्बिन पुगेको नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम सम्मिलित छन् । नेपालका नामी बलर ललितसिंह राजवंशीकी आमाको निधन भएकोले जान पाएनन् । उनको ठाउँमा टिममा साहब आलमलाई चयन गरिएको हो ।

Share Now