Prakash Adhikari August 23, 2025

रोम, ६ भदौ (रासस/एएफपी):  संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ। मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पु¥याएको आरोप लगाएका छन् ।

इजरायलको विदेश मन्त्रालयले गाजा शहर र आसपासमा अहिले अनिकाल परेको घोषणा ‘निहित स्वार्थ भएका संगठनहरूमार्फत हमासको झूटमा आधारित’ रहेको बताएको छ।

“गाजामा कुनै अनिकाल छैन,” मन्त्रालयले भनेको छ।

अनिकालको आँकलन संयुक्त राष्ट्रसङ्घले आसन्न सङ्कटबारे चेतावनी दिने जिम्मा पाएको अनुगमनकर्ताहरूको गठबन्धन ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ (आईपीसी)’ ले गरेको थियो ।

यसले २० प्रतिशत घरधुरीमा खाद्यान्नको चरम अभाव हुँदा अनिकाल हुने भनी परिभाषित गरेको छ। गाजामा पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् । प्रत्येक १० हजार मानिसहरूमध्ये कम्तीमा दुई जनाको मृत्यु दैनिक भोकमरी वा कुपोषण र रोगका कारण हुन्छ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूले इजरायलले हमासविरुद्ध आक्रमण तीव्र पारेपछि झनै बिग्रिएको र गाजामा महिनौँदेखि मानवीय अवस्था बिग्रँदै गएको बताएका छन् ।

रोमस्थित आर्इिपसीले भनेको छ, “सन् २०२५ अगष्ट १५ सम्ममा गाजाको प्रशासनिक प्रान्तमा अनिकाल (आईपीसी चरण ५) उचित प्रमाणसहित पुष्टि भएको छ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार हाल गाजा क्षेत्रमा करिब १० लाख मानिस बसोबास गर्छन् ।

“पछिल्लो २२ महिनाको निरन्तर द्वन्द्वपछि गाजा पट्टीका पाँच लाखभन्दा बढी मानिस भोकमरी, गरिबी र मृत्युको भयावह अवस्थाको सामना गरिरहेका छन्,” आइपिसीको दण्ड संहिताको प्रतिवेदनमा भनिएको छ।

अनिकाल सेप्टेम्बरको अन्त्यसम्ममा देइर अल–बालाह र खान युनिस प्रान्तहरूमा फैलिने र यसले गाजाको कुल जनसङ्ख्याको तीन चौथाईभन्दा बढी वा लगभग छ लाख ४१ हजार मानिसहरू समावेश रहेका आइपिसीले अनुमान गरेको छ ।

आइपिसीले गाजा पट्टीमा भोकमरीको विश्लेषण गर्न थालेदेखि स्थितिमा सबैभन्दा गम्भीर गिरावट आएको रिपोर्ट गरेको छ, जसलाई यसले ‘पूर्ण रूपमा मानव सिर्जित’ भनेको छ।

द्वन्द्वमा तीव्र वृद्धि र ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित हुनुका साथै खाद्यान्नको मानवीय र व्यावसायिक आपूर्तिमा पहुँचमा गम्भीर प्रतिबन्धका कारण यो परिवर्तन आएको बताइएको छ।

मार्चको सुरुमा, इजरायलले गाजाबाट सहायता आपूर्तिमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो भने मेको अन्त्यमा धेरै सीमित मात्रामा मात्र सहायता प्रवेश गर्न अनुमति दिएको थियो । यसले गर्दा खाद्यान्न, औषधि र ईन्धनको गम्भीर अभाव भएको होे ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले भोकमरीलाई युद्धको विधिका रूपमा प्रयोग गर्नु युद्ध अपराध भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक टम फ्लेचरले जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै इजरायलको व्यवस्थित अवरोधका कारण सीमामा खाद्यान्न थुप्रिएको बताउनुभएको छ ।

उहाँले गाजाको अनिकालले ‘सबैलाई पिरोल्नुपर्ने’ बताउनुभएको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा तत्काल युद्धविराम गर्न, इजरायलबाट हमासले बन्धक बनाएका सबैलाई रिहा गर्न र गाजामा पूर्ण मानवीय पहुँचका लागि पुनः आह्वान गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “हामी यो अवस्थालाई दण्डहीनताका साथ जारी रहन दिन सक्दैनौँ।”

विशेष गरी खानाको अभावले गर्दा बालबालिकालाई निकै समस्या हुने गरेको छ ।

राष्ट्रसङ्घीय निकायका अनुसार जुलाईमा मात्रै १२ हजारभन्दा बढी बालबालिका कुपोषित भएका छन्।

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले भन्नुभयो, “गाजामा बच्चाहरूको शरीर बिग्रिएकोे, उनीहरू खानको लागी पनि धेरै कमजोर अवस्थामा रहेका, बच्चाहरू भोक र रोकथाम योग्य रोगबाट मरिरहेका लक्षणहरू स्पष्ट देखिन्छ।”

गाजा पट्टीमा अनुमानित ९८ प्रतिशत खेतीयोग्य जमिन क्षतिग्रस्त, दुर्गम वा दुवै क्षेत्रमा क्षति पुगेको आइपिसीले जनाएको छ । यहाँ पशुधन नष्ट गरिएको छ भने माछा मार्न प्रतिबन्ध लगाइएको छ।

स्वास्थ्य प्रणालीको गम्भीर गिरावट र सुरक्षित पिउने पानी र पर्याप्त स्वच्छताको अभावले सङ्कटलाई अझ जटिल बनाएको छ।
गाजामा सूचना सङ्कलन गर्न निकै कठिन छ ।

आइपिसीले गाजा शहरको उत्तरमा रहेको उत्तरी गाजा प्रान्तको अवस्था अझ खराब हुन सक्ने बताएको छ, तर आफूसँग पर्याप्त तथ्याङ्क नभएको बताएको छ।

Share Now