Prakash Adhikari August 24, 2025

माधुरी महतो/ बीबीसी न्यूज नेपाली

वीरगन्ज(पर्सा), ८ भाद्र । विगत केही दिनदेखि वीरगन्ज महानगरमा हैजाको सङ्क्रमण फैलन थालेपछि वीरगन्ज महानगर अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको तथा महानगर क्षेत्रभित्रका पानीपुरी, चाट, चटपटे लगायतका खानेकुराको विक्री वितरणमा पनि रोक लगाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिनुभएको छ।

वीरगन्जका अस्पतालहरू हाल झाडापखालाका बिरामीहरूले भरिएका तथा स्थानको समेत अभाव हुन थालेको नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ चिकित्सक डा.उदय नारायण सिंहले बताउनुभएको छ।

झाडापखालाका सिकिस्त र हैजाका शङ्कास्पद बिरामीहरू थपिने क्रम जारी रहेको उहाँले बताउनुभयो।

कति जनामा हैजा पुष्टि

स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रण शाखा मधेश प्रदेशका फोकल पर्सन जयमोद ठाकुरले वीरगन्जका नारायणी अस्पतालसहित सबै अस्पतालमा गरी हालसम्म १ सय २९ जना झाडापखाला लागेर बिरामीहरू भर्ना भएको जसमध्ये ४२ जनामा हैजा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो।

झाडापखालाका कारण मृत्यु भएका केही बिरामीको हैजाका कारण वा अन्य कारणले मृत्यु भएको भनेर यकिन गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशमा बिरामीका दिसाको नमुना पठाइएको ठाकुरले बताउनुभयो।

वीरगन्जमा पहिले वडा नम्बर १२ बाट सुरु भएको झाडापखालाको समस्यापछि हैजा सङ्क्रमण पुष्टि भए यता हाल अन्य तीन वडाबाट समेत बिरामीहरू अस्पताल भर्ना भई उपचार गराइरहेकाले यसले सङ्क्रमण विस्तार हुँदै गएको चिन्ताजनक अवस्था रहेको देखाउने चिकित्सकहरूको भनाइ छ।

तर उनीहरूले भयभीत नभई आफ्नो आनीबानी तथा सरसफाइमा ध्यान दिन आवश्यक रहेको सुझाव दिएका छन्।

रोकथाम र नियन्त्रणका लागि के-के हुँदैछ?

हैजाको सङ्क्रमण देखिन थालेपछि त्यसको रोकथाम र नियन्त्रणमा तीनै तहका सरकार जुटेको अधिकारीहरूले बताएका छन्।

वीरगन्ज महानगरपालिका, स्वास्थ्य कार्यालय पर्सा, मधेस प्रदेश सरकार र सङ्घीय सरकारको खानेपानी मन्त्रालय ती प्रयासमा जुटेको अधिकारीहरूले बताएका हुन्।

झाडापखाला र हैजाको सङ्क्रमण नियन्त्रणका लागि महानगरपालिकाले आफ्ना सम्पूर्ण स्रोतसाधन र जनशक्ति परिचालन गरिसकेको मेयर राजेशमान सिंहले बताउनुभयो।

महानगरको स्वास्थ्यकर्मीको टोली, स्वास्थ्य कार्यालयको टोली र नर्सिङ क्याम्पसका विद्यार्थीहरू गरी हाल टोलटोल अनि घरघरसम्म पुगेर जनचेतना फैलाउने तथा पानी परीक्षणका लागि सहकार्य गर्ने काम भइरहेको फोकल पर्सन ठाकुरले बताउनुभयो।

त्यसै गरी मस्जिदसँगको सहकार्यमा जनचेतनाका लागि मस्जिदका मौलवीले समेत अजान गर्ने बेला माइकबाट हैजा नियन्त्रण गर्ने उपायबारे जनचेतना फैलाउने काम भइरहेको ठाकुरले बताउनुभयो।

एउटा वडाबाट अन्य वडामा हैजा सङ्क्रमण पुष्टि हुँदै गएपछि ३२ वटै वडाका स्वास्थ्यकर्मीहरूलाई सतर्क रहन भनिएको अनि आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन स्ट्यान्डबाइमा राखिएको मेयरले बताउनुभयो ।

वीरगन्ज महानगरको १ देखि १६ नम्बर वडा हैजाको बढी जोखिमयुक्त क्षेत्र मानिएको उहाँले बताउनुभयो।

प्रदेश सरकार तथा सङ्घीय सरकारले पनि टोली खटाएका छन् अनि आवश्यक सामग्रीहरू अस्पताललाई हस्तान्तरण गरेका छन्।

वीरगन्जमा खानेपानी परीक्षणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग काठमाडौंबाट वीरगन्जमा खटिएको जनाइएको छ।

वीरगन्जमा हैजा फैलिनुको कारण

वीरगन्जमा हैजाको सङ्क्रमण फैलिनुको कारण भने अहिलेसम्म यकिन भई नसकेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताउनुभयो।

दूषित पानी वा खानाको माध्यमले मानिसमा भिब्रियो कोलरी ब्याक्टेरिया जीवाणु प्रवेश गरेपछि हैजा रोग लाग्ने गर्छ।

सङ्क्रमित भेटिएका टोल र घरका धाराहरूको पानीको नमुना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौंको प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन एक हप्ता लाग्न सक्ने उहाँले जानकारी दिनुभएको छ।

यसपालि वीरगन्जमा चापाकलहरू सुकेर खानेपानीको सङ्कट भएपछि महानगरका विभिन्न वडाहरूमा डीप बोरिङ जडान गरेर विगत केही महिनादेखि घरघरमा पानीको आपूर्ति हुँदै आएको थियो।

जानकारहरूका अनुसार ती डीप बोरिङमा जडान गरी बिछ्याइएका पाइपहरू प्रायः धेरै स्थानमा नालाभित्रै पर्ने गरी राखिएकाले पाइप लिक भएर नालाकै प्रदूषित र फोहोर पानी घरघरमा आपूर्ति भइरहेका कारण अहिले हैजा फैलिएको हुन सक्छ।

तर सुरुमा हैजा सङ्क्रमण पुष्टि भएका बिरामीले डीप बोरिङको पानी नखाएको पाइएको महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिनुभएको छ।

पानी उमालेर वा क्लोरिनको प्रयोग गरी पिउन सुझाव

वरिष्ठ डाक्टर उदय नारायण सिंहका अनुसार खानपानमा लापरबाही गरे यसको कीटाणु मानिसको शरीरमा पुग्ने गर्छ।

उक्त ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गराएपछि झाडापखाला लाग्ने डाक्टर सिंहले भन्नुभयो।

त्यस कारण दिसा पिसाब गरिसकेपछि राम्रोसँग हातखुट्टा धुन उहाँको सुझाव छ।

सकेसम्म घर बाहिरको जथाभाबी खाना र बासी सडे गलेका खानेकुरा नखान, घरमा राम्ररी पकाएको खानेकुरा खान, तथा उमालेर वा क्लोरिनको प्रयोग गरी शुद्ध बनाइएको पानी मात्र पिउन डा.सिंहको सुझाव छ।

स्वास्थ्यकर्मी जयमोद ठाकुरले भने गाउँ टोलमा अझ पनि सरसफाइमा लापरबाही हुने गरेका कारण यस्ता समस्या दुई दशकपछि वीरगन्जमा देखा परेको र यसबाट अझ खराब अवस्था सिर्जना हुन सक्ने हुँदा रोग लाग्नुभन्दा रोगबाट बच्नु नै उत्तम हुने सुझाव दिनुभएको छ।

Share Now