काठमाडौँ, १० भदौःनेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको कामना गर्दै यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम गर्न प्रेरित गरोस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गर्नुभएको छ ।
यसपर्वमा नेपाली नारीले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रुपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ ।
परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलको भनाइ छ । “महिलाविरुद्ध हुनसक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायहरूको अन्त्यगरी सभ्य र समतामूलक समाज निर्माण गर्न तीज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु”, राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।
“शान्ति र प्रेरणाका रूपमा रहने समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् । आदर्शमय तथा एकतात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अतिआवश्यक रहेको छ”, राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ ।
राष्ट्रपति पौडेलले हरितालिका (तीज) पर्व, २०८२ ले सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागितालाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने शुभकामना प्रकट गर्नुभएको छ ।
तीजले सामाजिक समरसता कायम गर्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
हरितालिका तीज, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना व्यक्त गर्दै उहाँले भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व धार्मिक आस्था, सांस्कृतिक गौरव र पारिवारिक प्रेमको अनुपम प्रतीक भएको बताउनुभयो ।
उहाँले भन्नुभएको छ, “प्रकृतिको हरियालीले सिँगारिएको मौसममा मनाइने यो पर्व उत्सव, उमङ्ग, उल्लास र आत्मीय मिलनको सन्देश बोकेर आउँछ, नेपाली समाजको बहुरङ्गी संस्कृति र विविध परम्पराबीच मनाइने यो पर्वले हामीलाई एकता, सहिष्णुता र आपसी सद्भावको मार्गमा अग्रसर हुन सघाउँदछ ।”
पारिवारिक समर्पणको प्रतीक यो पर्वमा विवाहित महिलाहरूले पतिको दीर्घायु र समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ भने कुमारी कन्याहरूले भगवान् शिवजस्तो योग्य वरको कामना गर्दै मनाउने चलन र धार्मिक मान्यता रहिआएको छ ।
सामाजिक एकता र मेलमिलापको सन्देश बोकेको तीज पर्वले विभिन्न समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्ने र टाढा पुगेका छोरीचेलीहरुलाई माइतीले बोलाउने मौलिक परम्पराले सामाजिक÷पारिवारिक आत्मीयता र सद्भाव कायम राख्न सघाउने उहाँको भनाइ छ । उहाँले सन्देशमा भन्नुभएको छ, “नेपालमा बसोबास गर्ने विभिन्न जाति, समुदायलेसमेत धुमधामका साथ मनाउने यो पर्वले सांस्कृतिक विविधता बोकेको छ, यो पर्वले नेपाली समाजको सांस्कृतिक विविधता र एकतालाई बलियो बनाउन सहयोग पुग्दछ ।”
महिलाहरूले परम्परागत गीत गाउँदै मनोरञ्जन गर्ने, दुःखसुखका भावना व्यक्त गर्ने माध्यमका रूपमा तीजलाई उपयोग गर्ने हाम्रो रैथाने प्रचलन हो । तीजको अघिल्लो दिन मीठा परिकार बनाई आफन्तसँग रमाइलो गर्दै ‘दर’ खाने चलनले सामाजिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्छ । उपराष्ट्रपति यादवले सबैले तीजको धार्मिक र सांस्कृतिक मूल्यलाई आत्मसात् गर्दै मर्यादित र मौलिक ढङ्गले मनाउनुपर्ने आवश्यक औँल्याउनु भएको छ ।
चौरचन (चकचना) पर्व र गणेश चौथी शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले हाम्रा मौलिक संस्कृति, धार्मिक चेतना र सामाजिक एकता सुदृढ पार्ने माध्यम भएको बताउनुभएको छ । चौरचन (चकचना) पर्व र गणेश चौथी, २०८२ को पावन अवसरमा आज शुभकामना दिँदै उहाँले नेपालमा मनाइने विभिन्न पर्वले धार्मिक र सांस्कृतिक अनुष्ठानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने धारणा राख्नुभयो ।
तराई–मधेसका केही जिल्लामा भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि हिन्दू व्रतालुहरुले मनाउने चौरचन (चकचना) पर्वमा धार्मिक विधिविधानअनुसार चन्द्र देवको पूजा उपासना गर्ने परम्परा छ । मधेसको सांस्कृतिक पहिचान बोकेको यो पर्वमा पुरी, खीर, दही, मौसमअनुसारका फलफूललगायतका मौलिक प्रसाद चन्द्रदेवलाई अर्पणपछि सम्पूर्ण परिवार सामूहिक रुपमा प्रसाद ग्रहण गर्ने चलन छ ।
प्रसादका रुपमा तयार पारिने भौलिक परिकारहरुले खानपान संरकृतिको विविधतालाई झल्काउँदछ । यो पर्व मनाउँदा मानसिक शान्ति, चन्द्र दीपको निवारण तथा पारिवारिक समृद्धि हुने जनविश्वास रहिआएको छ । यो पर्वले स्थानीय परम्परा र सामूहिक आस्थालाई बलियो बनाउन पनि सघाउँदछ ।
गणेश चौथी (गणेश चतुर्थी) को नामलेसमेत लोकप्रिय यी नोकपर्वमा भगवान् गणेशको आराधना गरिन्छ । जसले विघ्नहरण गरी जीवनमा शुभलाभ ल्याउने विश्वास गरिन्छ । यो पर्वमा भक्तजनले विघ्न नाश, कार्यसिद्धि र मानसिक शान्तिको कामना गर्दै गणेशको पूजा गर्छन् । गणेश चौथी केबल एक धार्मिक अनुष्ठान होइन, यो हाम्रो सामाजिक आत्मा, सांस्कृतिक पहिचान र सामूहिक चेतनाको उत्सव पनि हो ।
उपराष्ट्रपति यादवले भन्नुभएको छ, “यो पर्वले परिवार र समाजमा आपसी भाइचारा, अपनत्व र प्रेमभाव अभिवृद्धि गर्न सघाउँदछ, विविधतायुक्त सांस्कृतिक भएको नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछन् ।”
उहाँले चाडपर्वका माध्यमबाट मत्तोमालिन्यता हटाउने, समभाव बढाउने र सद्भाव कायम गर्ने वातावरण सिर्जना हुने विश्वास पनि गर्नुभएको छ । “आधुनिक जीवनशैलीमा व्यस्त मानिसलाई धार्मिक ध्यान र आत्मचिन्तनको अवसर प्रदान गर्दछ, यी चाडपर्वले हामीबीच विद्यमान सबै प्रकारका आपसी मनोमालिन्यता हटाई प्रेम, समता र सहिष्णुताको भावना जागृत गर्न उत्प्रेरित गरून् भन्ने कामना गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि पुनःहार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ ।
—


















