Prakash Adhikari August 26, 2025

 

काठमाडौं, १० भाद्र । दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसीटी)लाई आज दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ। आज नेपालको यो लगातार दोस्रो जित हो।

जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३.२ ओभरमा नै ४ विकेटको नोक्सानीमा पूरा गर्यो। नेपालका पहिलो क्रमका तीन ब्याटरले दोहोरो रन छुन सकेनन्।

ओपनर भीम सार्की ८ रनमा, आशिफ शेख ४ रनमा र कप्तान रोहित पौडेल ९ रनमा आउट भए। २५ रनमा ३ विकेट गुमाउँदै नेपालले सुरुवात खराब गर्यो।

त्यसपछि गुलशन झा र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे। गुलशन २३ रनमा आउट भए।

३१ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्कासहित अविजित ४२ रनमा रहँदै जित दिलाउन सफल रहे। आरिफ शेख अविजित ११ रनमा रहे। एसिटीका इ रहेमानले २ तथा एल इभान्स र डि दुबेले १र१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनायो। टोलीका कुनै खेलाडी नेपाली बलर सामु क्रिजमा टिक्न सकेनन्।

एन ब्रोसले सर्वाधिक १६ रन बनाए। केयोग, म्याक नमारा र टि हिगनले समान १५ रन बटुले। जे स्मिथले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन्।

सानदार बलिङ गर्न सफल नेपालको लागि दीपेन्द्र र सहाब अलामले समान ४ विकेट लिए। सहाबले ४ ओभरमा १२ र दीपन्द्रले १३ रन मात्र दिंदै किफायती बलिङ गरे।‌ गुलशन र रोहितलर १ । १ विकेट आफ्नो नाममा लेखाए।

पहिलो खेलमा ह्याट्रिक सहित ५ विकेट लिएका सन्दीप लामिछाने दोस्रो खेलमा विकेट विहिन रहे। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो।

Share Now