Prakash Adhikari August 27, 2025

थिम्पु(भुटान),११ भाद्र । साफ यु-१७ महिला च्याम्पियनसिप अन्तरगत भएको आजको खेलमा नेपाल बंगलादेशसँग पराजित गरेको छ। हालसम्म खेलिएका चार खेलमध्ये तीनमा हार ब्यहोरेको नेपाल उपाधि जित्ने होडबाट लगभग बाहिरिएको छ । नेपालले अझै समूहका अरु दुई टोलीसंग  एक एक पटक खेल्ने छ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको आजको खेलमा नेपाल ४-१ गोल अन्तरले पराजित भएको हो।

खेलमा बंगलादेश पूरै हाबी भयो । ३८ औं मिनेटमा एकल प्रयासमा थुइननुयी मार्माले गोल गरिन्। बंगलादेशले पहिलो हाफको अन्त्यमा अग्रता दुगुना गर्यो। मानोमी चक्माको क्रसमा बक्सभित्रबाट सौरवी अकान्डा प्रीतिले गोल गरिन्।

पहिलो हाफको निर्धारित समयमा २-० ले पछि परेको नेपालले पहिलो हाफ इन्ज्युरी समयमा एक गोल फर्कायो। बतिकाको कर्नरमा क्लियर हुन नसकेको बलमा कप्तान भूमिका बुढाथोकीले गोल गरिन्। पहिलो हाफ बंगलादेशको पक्षमा २-१ को नतिजामा सकियो।

दोस्रो हाफको सुरुमै भूमिकाले बराबरी गर्ने अवसर गुमाइन् । उनको प्रहार पोस्ट नजिकबाट बाहिरियो।

खेलको ७१ औं मिनेटमा बंगलादेशले तेस्रो गोल गर्यो। मामोनी चक्माको क्रसमा सौरवीले व्यक्तिगत दोस्रो गोल गरिन्।

नेपालसंग ३-१ को आरामदायी अग्रता बनाएको वंगलादेशले ८६ औं मिनेटमा अर्को गोल गर्यो । पूर्णिमा मार्माको पासमा सौरवीलेन गोल गर्दै ह्याट्रिक पूरा गरिन्। योसँगै बंगलादेशले ४-१ को जित हात पारेको छ।

नेपाल पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरमा पराजित भएको थियो । दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै नेपालले घरेलु टोली भुटानलाई २-१ ले हरायो । तेस्रो खेलमा बंगलादेशसँग ३-० को हार बेहोरेको थियो। ४ खेलमा नेपालले मात्र ३ अंक बनाएको छ।

बंगलादेशले यसअघि भुटानलाई ३-१ र नेपाललाई ३-० ले हराउन सफल भैसकेको छ। भारतसँग भने २-० को हार बेहोरेको थियो। ४ खेलमा बङ्गलादेशले ९ अंक जोडेको छ।

प्रतियोगितामा दक्षिण एसियाका ४ राष्ट्र नेपाल, भुटान, बङ्गलादेश र भारतले सहभागीता जनाएका छन्।‌ डबल राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग दुई खेल खेल्नेछन्। अंक तालिकाको शीर्षस्थानमा रहने टिमले उपाधि जित्नेछ।

Share Now