Prakash Adhikari August 29, 2025

-लोरा बिकर । चीन संवाददाता
-जाँ मक्केन्जी । सोल संवाददाता

बेइजिड. र सिउल(चीन र दक्षिण कोरिया), १३ भाद्र(बीबीसी) । उत्तर कोरियाली नेता किम जङ अन ३ सेप्टेम्बरमा बेइजिङमा आयोजना हुन लागेको सैन्य परेडमा सहभागी हुने चीनको विदेश मन्त्रालयले जनाएको छ। किम पहिलो पटक विभिन्न देशका नेताहरू पनि सहभागी हुने समारोहमा उपस्थित हुन लागेको ठानिएको छ।

चीनले जापानविरुद्ध भएको लडाइँ तथा द्वितीय विश्वयुद्ध टुङ्गिएको ८०औँ वार्षिकोत्सवका अवसरमा ूभिक्टरी डेू परेड आयोजना गर्न लागेको छ।

सैन्य परेडमा चीनले सयौँ विमान, ट्याङ्क र ड्रोनभेदी प्रणालीसहित आफ्ना नवीनतम अस्त्रशस्त्र प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित २६ राष्ट्रका प्रमुखहरू उपस्थित हुने ठानिएको छ।

उक्त समारोहको आयोजन चीनलाई शक्तिशाली बनाउने उद्देश्यमा रहेका सी जिन्पिङका लागि एउटा महत्त्वपूर्ण कूटनीतिक उपलब्धि हुने ठानिएको छ।

चिनियाँ सैन्य शक्तिको प्रदर्शन

चीनले पहिलो पटक आफ्नो सेनाको नयाँ शक्ति संरचना पूर्ण रूपमा परेडमा देखाउन लागेको छ।

सुव्यव्यस्थित र योजनाबद्ध रूपमा हुने उक्त समारोहमा दशौँ हजार सैनिकहरूले तिआन्अन्मेन स्क्वाएर हुँदै परेड गर्ने छन्।

परेडका सहभागी हुनेहरू पीएलएका विभिन्न ४५ वटा एकाइका सैनिकहरू र युद्धमा सहभागी भएका भूतपूर्व सैनिक हुन्।

चिनियाँ नेता सी जिन्पिङले तिआन्अन्मेन स्क्वाएरबाट अवलोकन गर्ने ७० मिनेट लामो सो परेडलाई विश्लेषकहरू र पश्चिमी शक्तिहरूले ध्यानपूर्वक हेर्ने ठानिएको छ।

मध्यबेइजिङमा आयोजना हुने उक्त परेडमा किम रुसका पुटिन र चीनका सीसँगै उभिएर भाग लिँदाको तस्बिर निकै अर्थपूर्ण हुने छ।

पुटिन र किम दुवैको कुरा सुनेर पछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग वार्तामा बस्दा सीसँग धेरै आत्मविश्वास ठानिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग सम्झौता गर्ने प्रयासमा हुनुहुन्छ। उहाँले गत साता आफूले किमसँग फेरि भेट्न चाहेको बताउनुभएको थियो।

यही बेला सीले भूराजनीतिको खेलमा आफू प्रभावशाली रहेको सङ्केत गर्नुभएको छ। सीमित रूपमा भए नि उहाँको पहुँच पुटिन र किम दुवै नेतासँग छ।

यतिखेरको समय पनि महत्त्वपूर्ण छ। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प अक्टोबरको अन्त्यमा एशिया भ्रमणमा जान सक्ने र उहाँ सीसँग भेट्न तयार रहेको सङ्केत गरेको छ।

किम र पुटिनसँग भेटेपछि यदि सीको भेट अमेरिकी राष्ट्रपतिसँग भयो भने उहाँले आफूलाई बेवास्ता नगरिएको थाहा पाउनु हुनेछ।

६ वर्षपछि किमको बेइजिङ भ्रमण

यसअघि किम छ वर्षअघि बेइजिङ जानुभएको थियो। उहाँ सन् २०१९ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवमा भाग लिन चीन पुग्नुभएको हो।

एक्लिएर बस्नुभएका उत्तर कोरियाली नेता किमले सन् २०१८ मा तीन पटक बेइजिङको पनि भ्रमण गर्नुभएको थियो। हतपत विदेश भ्रमण नगर्ने किम त्यो वर्ष धेरै पटक बाहिर जानुभयो ।

चीनको विदेश मन्त्रालयको बिहीवारको पत्रकार सम्मेलनमा प्योङ्‌याङको निकटतम सहयोगीमध्येको एक बेइजिङले आफ्नो छिमेकीसँगको दशकौँ लामो ूपरम्परागत मित्रताू को कदर गर्ने र दुई देशले ूक्षेत्रीय शान्ति र स्थिरताू मा सहकार्य जारी राख्ने जनाएको छ।

सन् २०१५ मा उत्तर कोरियाले विजयदिवसको परेडमा सहभागी हुन एक वरिष्ठ अधिकारीलाई पठाएको थियो। यसपालि किम आफैँ सहभागी हुने तयारीमा हुनुहुन्छ।

चीनले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्यङलाई पनि उक्त कार्यक्रममा निम्त्याएको छ। तर उहाँ सहभागी हुनुहुन्छ कि हुनुहुन्न भन्ने स्पष्ट छैन।

लीले किमसँग वार्ता गर्ने र शान्तिस्थापनाको विषय बारम्बार गर्नुभएको छ । यदि उहाँ उक्त परेड हेर्न जानुभयो भने दुई कोरियाका नेताबीच सन् २०१९ पछि पहिलो पटक भेट हुनसक्ने छ।

अधिकांश पाश्चात्य राष्ट्रका नेताहरू चीनको कार्यक्रममा सहभागी नहुने ठानिएको छ। युक्रेन युद्धका विषयमा उनीहरूको पुटिनसँगको मतभिन्नतालाई त्यसको एउटा कारण मानिन्छ।

जापानले यस साताको सुरुमा युरोपेली तथा एशियाली देशहरूलाई उक्त परेड ूजापानविरोधीू भावनाबाट प्रेरित भएको भन्दै त्यसमा उपस्थित नहुन आग्रह गरेको थियो।

Share Now