नयाँदिल्ली (भारत), २५साउन (बीबीसी) । प्रधानमन्त्रीले वाचा पूरा नगरेको भन्दै भारतका एक सांसद एडल्फ हिट्लरको भेषमा संसद् पुगेका छन्।
सतसट्ठी वर्षीय नरमल्ली शिवप्रसादले विरोध जनाउन भिन्न रूप धारण गरेको यो पहिलो चोटि हैन।
विगतमा विभिन्न देवता, पौराणिक पात्र र महिलाको भेष धारण गरेर उनी संसद् गएका थिए।
मैले गरेको कामले अरूको ध्यानाकर्षित हुन्। त्यसले मानिसहरूलाई सोच्न बाध्य पार्छ
नरमल्ली शिवप्रसाद
“मैले गरेको कामले अरूको ध्यानाकर्षित हुन्छ। त्यसले मानिसहरूलाई सोच्न बाध्य पार्छ,” उनले बीबीसी तेलुगूका रवि शङ्करलाई बताए।
साई बाबाको भेषमा
नरमल्ली शिवप्रसाद पहिला कलाकार थिए।
उनी दक्षिणी राज्य आन्ध्र प्रदेशबाट निर्वाचित सांसद हुन्।
उनी आफ्नो राज्यमा सत्तारूढ तेलुगू देशम् पार्टीसँग आबद्ध छन्।
तर यस पटक हिट्लरको भेषमा संसद् गएको विषयले केही विवाद उत्पन्न गराएको छ।
भगवान् रामको भेषमा
नारदको भेषमा
सामाजिक सञ्जाल ट्विटरमा एक जना लेख्छन्, “एक निर्वाचित सांसद संसद्मा हिट्लरको भेषमा उपस्थित भए – त्यो व्यक्ति जसले लाखौँलाई ग्यास च्याम्बर र युद्धमा मर्न पठायो। यसले खालि मनोरञ्जन दियो। आश्चर्य केमा हुन्छ भने भारतमा घृणा अति सामान्य भएको छ।”
शिवप्रसादका अनुसार केन्द्रीय सरकारले आन्ध्र प्रदेशलाई ‘विशेष श्रेणी’ को मान्यता दिन नमानेकाले त्यसको विरोध गरेका हुन्।
त्यो मान्यता पाएको राज्यलाई विकासका लागि धेरै रकम उपलब्ध गराइन्छ।
पहिला तेलुगू देशम् पार्टी नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रमा रहेको सत्तारूढ गठबन्धनमा संलग्न थियो।
तर यही विषयमा असन्तुष्टि जनाउँदै सो दल यही वर्ष गठबन्धनबाट बाहिरिएको थियो।
#TDP MP #NaramalliSivaprasad dressed as various characters during protests in recent Parliament sessions, demanding a special status for the state of Andhra Pradesh. I think he deserve an award for this. @ncbn pic.twitter.com/7VRFMeVqMg
— 𝐇𝐚𝐫𝐬𝐡 𝐊𝐮𝐦𝐚𝐫 (@harshktweets) August 9, 2018
केन्द्र सरकारले आन्ध्र प्रदेशसँग अन्यायपूर्ण व्यवहार गरेको भन्दै शिवप्रसादले बहुरूप धारण गर्दै आएका छन्।
हिट्लरको भेष किन रोजेको भन्ने प्रश्नमा शिवप्रसाद भन्छन्, “मैले जे गरे पनि त्यसको कारण हुन्छ। हिट्लरले कसैसँग परामर्श गरेनन् र उनले जनकल्याणका लागि काम गरेनन्।”
सन् २०१४ मा निर्वाचन जित्दा विद्यमान जनाकाङ्क्षा पूरा नगरेको भन्दै उनले प्रधानमन्त्री मोदीको व्यवहार पनि हिट्लरको जस्तै रहेको सङ्केत गरे।
सामाजिक सञ्जालमा केहीले शिवप्रसादको यो रूपप्रति आश्चर्य र केहीले रमाइलो प्रकट गरेका छन्।
परशुरामको भेषमा
महिलाको भेषमा
केहीले त्यसलाई नाटकको सङ्ज्ञा दिएका छन् भने केहीले ‘इतिहासकै सबैभन्दा ठूला हत्यारा’ को रूप धारण गरेर उनी किन त्यसरी हल्का रूपमा प्रस्तुत भए भनेर आश्चर्य प्रकट गरेका छन्।
ट्विटर प्रयोगकर्ताहरूले उनले पहिला पनि त्यसरी विरोध गरेको बेलाका तस्बिरहरू हालेका छन्।
म कलाकार हुँ। एउटा कलाकारले विरोधका लागि सिर्जनात्मक उपाय प्रयोग गर्नसक्छ
एक जनाले त उनले १५ विभिन्न रूप धारण गर्दाका तस्बिरहरू प्रेषित गरेका छन्।
शिवप्रसाद भगवान् राम, आध्यात्मिक गुरु सत्य साई बाबा र नारदआदि विभिन्न पौराणिक पात्रहरूको भेषमा संसद् गएका छन्।
गत मार्च महिनामा उनी दिल्लीस्थित संसद् भवनमा सारी लगाएर महिलाको भेषमा उपस्थित भएका थिए।
“म कलाकार हुँ। एउटा कलाकारले विरोधका लागि सिर्जनात्मक उपाय प्रयोग गर्नसक्छ,” उनले बीबीसी तेलुगूलाई बताए।