Prakash Adhikari August 30, 2025

थिम्पु(भुटान), १३ भाद्र । भुटानमा जारी साफ यु १९ महिला च्याम्पियनसीपको उपाधि भारतले लैजाने पक्का भएको छ । शुक्रवार सम्पन्न खेलमा नेपाली टिमलाई ५-० गोल अन्तरले हराउदै भारतले तेस्रो पटक साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि पक्का गरेको हो । भारतले यसअघि २०१८ र २०१९ मा उपाधि जितेको थियो।

यो जितमा ५ खेलबाट भारतले १५ अंक बनाउँदै एक खेल अगाडि नै उपाधि पक्का गर्यो। अब भारतले अझै बंगलादेशसंग एक खेल खेल्न बाँकी छ । त्यो खेल जिते उसले १८ अंक बनाउने छ । हारे पनि बंगलादेशको भन्दा उसको अंक बढी हुने छ । बंगलादेशले ५ खेलबाट १० अंक बनाएको छ। त्यो खेल जिते १३ अंक हुन्छ । जुन भारतको भन्दा कम हुन पुग्छ ।

उपाधि होडबाट बाहिरिसकेको नेपाल भारत विरुद्धको दोस्रो खेलमा पनि निरिह बन्यो। भारतको जितमा पर्ल फर्नान्डेज र र दिव्यानी लिन्डाले समान २ -२ गोल गर्दा निरा चानुले एक गोल थपिन्।

खेलको १५ मिनेटभित्र भारतले २ गोल गर्यो। निराले पाँचौं तथा पर्लले १५ औं र ४३ औं मिनेटमा गोल गर्दा भारतले पहिलो हाफमा ३-० को  अग्रता बनायो।

दोस्रो हाफमा पनि नेपाल विरूद्ध आक्रमक खेल खेलेको भारतको लागि दिव्यानीले ७९ औं र इन्ज्युरी समयमा गोल गरिन्। नेपाल ५-० गोल अन्तरले हराउदै भारतले एक खेल अगाडि नै उपाधि पक्का गर्यो।

नेपाल भारतसँग पहिलो खेलमा ७-० ले हारेको थियो। यो प्रतियोगितामा कमजोर प्रदर्शन गरेको नेपाल बंगलादेशसँग पहिलो खेलमा ३-० र दोस्रो खेलमा ४-१ ले पराजित भएको थियो।

भुटानलाई भने नेपालले २-१ ले हराएको छ। अब अन्तिम खेलमा नेपालले फेरी भुटानसँग खेल्नेछ। ५ खेलमा ४ मा हार र एक जित निकालेको नेपालले ३ अंक बटुलेको छ।‌

Share Now