काठमाडौँ, १५ भदौ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
सावधानी अपनाउन आग्रह
देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।
पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो केन्द्रमा एक सय १५ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै राजधानी काठमाडौँ आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ ।
यसैगरी, गोरखाको आरुघाटमा १७ दशमलव एक मिलिमिटर, स्याङजामा १४ दशमलव दुई मिलिमिटर, सिन्धुपाल्चोकमा १५ दशमलव दुई मिलिमिटर, डोटीमा १६ दशमलव दुई मिलिमिटर र बझाङको थलारामा ११ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।
विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको विभागले जनाएको छ ।
–––


















