Prakash Adhikari August 31, 2025
काठमाडौँ, १५ भदौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पुस्तकालय केवल किताब भण्डारणस्थल मात्र नभई समाजको समग्र विकासको केन्द्र हुनुपर्ने बताउनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको १८औँ पुस्तकालय दिवस २०८२ समाराेहमा उहाँले बदलिँदो समयअनुसार पुस्तकालयको भूमिका पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री गुरुङले प्राचीनकालदेखि नेपालको पुस्तकालय इतिहास रहेको स्मरण गर्दै १८६९ सालमा जारी ‘पुस्तक चिताइ तहबिल’ लालमोहरलाई पहिलो कानुनी पुस्तकालयको आधार मानिएको उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले जनचेतना, पठन संस्कृति, अनुसन्धान र सामाजिक रूपान्तरणका मेरुदण्ड मानिने पुस्तकालयसम्बन्धी अझै स्पष्ट नीति तथा कानुनको अभाव रहेकाले यसमा ध्यान दिनुपर्ने बताउनुभयो । “दीर्घकालीन, प्रणालीगत र बहुआयामिक सुधार अपरिहार्य छ । सरकारले एकीकृत पुस्तकालय ऐन निर्माण, बजेट व्यवस्थापन, पूर्वाधार विकास, ‘डिजिटल’ रूपान्तरण र जनशक्ति विकासमार्फत पुस्तकालयलाई आधुनिक पूर्वाधार र प्रविधिसहित पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।
मन्त्री गुरुङले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्र प्रविधिमैत्री बनाउने र सहज ‘इन्टरनेट’ सेवासहित विद्युतीय पुस्तकालयतर्फ रूपान्तरण गर्ने कार्यमा आफ्नो मन्त्रालयको प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालय, विद्यालय शिक्षा महाशाखाका प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारीको संयोजकत्वमा गठन भएको पुरस्कार छनौट समितिबाट सिफारिसका आधारमा नेपालभरका उत्कृष्ट योगदान पु¥याउने पुस्तकालय, पुस्तकालयकर्मी र पुस्तकालय अभियन्तालाई सम्मान गरिएको छ ।
यस वर्षको उत्कृष्ट पुस्तकालयको सम्मान कोहलपुर–११, बाँकेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई प्रदान गरिएको छ । यस्तै, उत्कृष्ट पुस्तकालय अभियन्ताका रूपमा काठमाडौँ–१४, कुलेश्वरका गृहमानसिंह श्रेष्ठ र उत्कृष्ट पुस्तकालयकर्मीको रूपमा गोकर्णेश्वर–७, जोरपाटीका जगदीश चन्द्र अर्याल सम्मानित हुनुभएको छ ।
यसैगरी, रत्न पुस्तकालय, बानेश्वर, काठमाडौँले पुस्तकालय र सूचना विज्ञानमा उत्कृष्ट योगदान पु¥याउने ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई रु ५० हजार नगद र कदर पत्रसहित महाकवि देवकोटा पुस्तकालय पुरस्कार, २०८२ प्रदान गरेको छ ।
मूल समारोहका उपाध्यक्ष सहसचिव रुद्रप्रसाद अधिकारीले यस वर्षको पुस्तकालय दिवस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाइमा गठित मुख्य समारोह समितिको अनुरोधअनुसार देशभरका सङ्घ, संस्था र निकायहरूले सक्रिय र सिर्जनात्मक रूपमा मनाएको बताउनुभयो ।
वरिष्ठ पुस्तकालयविद् इन्दिरा दलीले २०७२ सालको भूकम्पपछि निर्माण हुन बाँकी रहेको नेपाल राष्ट्रिय पुस्तकालयको काम चाँडै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाल्यावस्थादेखि पढ्ने बानी विकासका लागि राष्ट्रिय बाल पुस्तकालय स्थापना गर्न विसं २०७३ मा तयार पारिएको पुस्तकालय गुरु योजना कार्यान्वयन, सार्वजनिक र सामुदायिक पुस्तकालयलाई पाठकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ पुस्तकालयविद् दलीले डिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालयविरुद्धको मुद्दा पुनरावलोकन र केसर पुस्तकालयमा सङ्कलित पुरातात्विक सामग्रीका लागि अलग कक्ष निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव तथा सभाध्यक्ष चूडामणि पौडेलले नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकभरका पुस्तकालयको नियमन र सहजीकरणका लागि पुस्तकालय ऐनको मस्यौदा तयार गरी हिउँदे अधिवेशनमा संसद्मा पेस गर्ने र प्रत्येक प्रदेशमा केन्द्रीय पुस्तकालय स्थापना गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस अवसरमा ‘रुम टू रिड’को सहकार्यमा रुपन्देही जिल्लाका ४८ विद्यालयमा स्थापना भएका विद्यालय पुस्तकालयको ‘भर्चुअल’ उद्घाटन गर्नाका साथै अठारौँ पुस्तकालय दिवसको स्मारिका र सहप्राध्यापक रुद्रप्रसाद दुलाल र पुस्तकालयविद् गीता थापा गिरीका पुस्तकहरूको विमोचन गरिएको दिवशको प्रचारप्रसार  उपसमिति संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
Share Now