Prakash Adhikari September 1, 2025

-माधुरी महतो

वीरगञ्ज(पर्सा), १६ भाद्र(वीरगञ्ज) । वीरगन्जका विभिन्न वडामा झाडापखाला र हैजा प्रभावितहरू देखिएकामा पछिल्लो समय वीरगन्जबाहेक पर्साको पोखरिया नगरपालिकाको अस्पतालमा समेत त्यस्ता बिरामीहरू भर्ना भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

तर हैजा र झाडापखालाका बिरामीहरू अस्पतालमा उपचारपछि निको भएर घर फर्किनेहरूको सङ्ख्या पनि दिनहुँ बढ्दै गएको स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाले बताउनुभयो।

उहाँका अनुसार हालसम्म पर्साका अस्पतालहरूमा ८ सय २१ जना हैजा प्रभावित बिरामी भर्ना भएर उपचार गराएकोमा ६ सय २२ जना उपचारपछि निको भएर घर फर्किएका छन्। त्यस्तै १ सय ९९ जनाले वीरगन्जलगायत पर्साका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।

शनिवार मात्रै झाडापखाला र हैजा प्रभावित ३१ जना नयाँ बिरामीहरू अस्पताल भर्ना भएका उहाँले बताउनुभयो।

ूहैजा र झाडापखालाका बिरामीहरू दिनहुँ अस्पताल भर्ना हुने र उपचारपछि केही घर फर्किने क्रम चलिरहँदा अहिले यसलाई महामारीको रूपमा लिन नसकिने तर सतर्कता भने उच्च स्तरमा अपनाउनुपर्ने छ। नत्र योभन्दा पनि भयावह अवस्था सिर्जना हुन सक्ने देखिन्छ,ू झाले भन्नुभयो ।

उहाँले वीरगन्जका साथै पर्साका अन्य स्थानीय तहहरूमा पनि गएर स्वास्थ्यकर्मीको टोलीले सचेतना अभियान चलाइरहेको बताउनुभयो।

सबै पालिकामा आवश्यक औषधि, किट लगायतका औषधिजन्य सामग्री तयारी अवस्थामा राख्न पर्याप्त मात्रामा पठाइसकिएको पनि उहाँले जानकारी दिनुभयो।

बिरामीको सङ्ख्या घट्दै

हाल सबैभन्दा बढी वीरगन्जमै बिरामीहरू देखिएकाले वीरगन्जमा विशेष सतर्कता भने अपनाएर काम भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।

नारायणी अस्पतालका प्रवक्ता एवं वरीष्ठ फिजिसिअन डा. उदयनारायण सिंहले महानगरपालिकासहित आसपासका क्षेत्रमा हैजाको प्रकोप देखिँदा खासगरी बालबालिका, गर्भवती महिलाहरू अस्पताल आउने क्रम जारी रहेको बताउनुभएको छ।

गत नौ दिनदेखि दिनहुँजसो हैजा र झाडापखालाका बिरामीहरू अस्पताल भर्ना हुन आउने क्रम चलिरहेको छ। तर पहिलेभन्दा अहिले बिरामीहरूको सङ्ख्या कम हुँदै गएको उहाँले जानकारी दिनुभयो।

अस्पतालहरूमा बिरामीहरूको सहज उपचारका लागि छुट्टै कक्षको प्रबन्ध समेत गरिएको छ।

स्वास्थ्यकर्मी, जनस्वास्थ्य कार्यालय, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य सामग्री तथा आवश्यक औषधि आपूर्ति भइरहेको बताइएको छ।

यसअघि विक्रम संवत् २०७२ सालमा वीरगन्जमा हैजाको प्रकोप देखिएको भए पनि यस पटकको प्रकोपलाई गम्भीर रूपमा लिइएको बताइएको छ।

प्रकोप नियन्त्रणका लागि स्थानीय तह, स्वास्थ्य कार्यालय, अस्पताल, जनस्वास्थ्य विभाग, सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेश , स्वास्थ्य निर्देशनालय लगायतसँग समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताउनुभयो ।

कारण अझैसम्म अज्ञात

हैजा र झाडापखालाका बिरामीहरू सबैभन्दा पहिले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ मा देखिएका थिए।

खास गरी यो पानीजन्य रोग भएकाले उक्त वडाहरूबाट पानी सङ्कलन गरी परीक्षणका लागि मधेश प्रदेश परीक्षण प्रयोगशालामा पठाएपछि रिपोर्ट नेगेटिभ आएको थियो।

त्यसपछि अहिले काठमाडौं प्रयोगशालामा पानी परीक्षणका लागि पठाइएको र हालसम्म रिपोर्ट नआएकोले केही भन्न नसकिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख झाले जानकारी दिनुभयो।

फिजीसिअन डा. अनुपम उपाध्यायले भने हैजा नियन्त्रण तथा रोकथामका लागि जनतामा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले विशेष गरी सरसफाइमा ध्यान दिन, उमालेर मात्र पानी पिउन, पानी राखिएका भाँडामा ढकनी लगाउन र खानपानमा विशेष सावधानी अपनाउन सुझाव दिनुभएको छ।

लगातार विद्यालय बन्द

समुदायस्तरमै हैजा र झाडापखाला प्रभावित बिरामीहरू अस्पताल भर्ना हुने क्रम जारी रहेकोले सबैभन्दा बढी संवेदनशील मानिएका बालबालिकाहरूलाई सुरक्षित राख्न एक सातादेखि विद्यालयहरू बन्द गरिएका छन्।

सुरुमा तीन दिनका लागि बन्द भएको विद्यालय पछि समयावधि थप हुँदै वीरगन्ज महानगरपालिकाको कार्यालयले फेरि तीन दिनका लागि विद्यालय बन्द गरेको महानगरपालिका अन्तर्गतका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले बताउनुभयो।

अवस्था बुझ्न मन्त्री र नेता

वीरगन्जमा समुदायस्तरमै हैजा र झाडापखाला फैलिएपछि मन्त्रीहरूको पनि निरीक्षण र अनुगमन तीव्र भएको छ।

केही दिन पहिला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर बिरामीहरूसँग प्रत्यक्ष भेटेर अवस्था बुझ्न
भयो।

आइतवार गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजय चौरसिया र खानेपानीमन्त्री प्रदीप यादव पनि अस्पतालहरूमा अनुगमन र निरीक्षणका लागि पुग्नुभएको थियो।

यसअघि कांग्रेस महामन्त्री गगन थापा पनि हैजा र झाडापखालाका कारण अस्पतालमा भर्ना भएका बिरामीहरू भेट्न पुग्नुभएको थियो।

Share Now