Prakash Adhikari September 4, 2025

काठमाडौँ, १९ भाद्र। नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् । भदौ १३ मा बसेको मन्त्रिपरिषद्ले उहाँलाई ३२औँ महानिरीक्षक नियुक्त गरेको थियो ।

अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ छोटो समय मात्र पदमा रहन्छन् । संसदमा छलफलमा रहेको प्रहरी विधेयक पारित नभएको अवस्थामा उहाँले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्नु हुनेछ ।

खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुनुभएको थियो ।

प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि पूरा गरेर उहाँ आगामी कार्तिक २६ मा अवकाशमा जानुहुने छ ।

नवनियुक्त आईजीपी खापुङ २०२७ मङ्सिर २३ मा तेह्रथुमको मेन्छ्यायोम गाउँपालिकामा–६ मा जन्मिनुभएको थियो ।

जेन्डर स्टडिजमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको खापुङले इन्स्पेक्टर हुँदा मोरङको इलाका प्रहरी कार्यालय बेलबारी लगायतका ठाउँमा कमान्ड गर्नुभएको थियो ।

डीएसपीमा उहाँले प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय धरान र प्रहरी वृत्त दरबारमार्गको इन्चार्ज भएर काम गर्नुभएको थियो। २०७३ पुसमा एसपीमा बढुवा हुनुभएका उहाँले जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखाको कमान्ड गर्नुभएको थियो ।

२०७७ वैशाखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका खापुङले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गर्नुभयो। त्यस्तै उहाँले नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेको पनि कमान्ड गर्नुभएको थियो ।

२०८० वैशाख ६ मा डीआईजी हुनुभएका खापुङले कोशी प्रदेशको प्रहरी प्रमुख र अख्तियारमा बसेर काम गर्नुभयो । उहाँले इटाली, भियतनाम र चीनमा समेत गरेर विविध विषयमा १४ वटा तालिम लिनुभएको थियो ।

Share Now