Prakash Adhikari September 5, 2025

-शरद केसी
संवाददाता, बीबीसी न्यूज नेपाली

काठमाडौं, २० भाद्र । अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिना नै नेकपा एमालेको विधान महाधिवेशन सुरु हुने भएपछि उनी निकटस्थ मानिएका नेताहरूले फरक मत अघि बढाएका छन्।

अघिल्लो दिन बिहीवार स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भण्डारीलाई रोक्ने निर्णय अलोकतान्त्रिक भएको भन्दै फरक दस्ताबेज दर्ता गर्नुभएको हो।

“देशभरि त्यो विचार राख्ने नेताकार्यकर्ता हुनुहुन्छ, उहाँहरू सबैको प्रतिनिधित्व गर्दै मैले फरक दस्ताबेज पेस गरेको हुँ”, नेता थापाले भण्डारीका निम्ति एमालेको ढोका खोलिनुपर्ने बताउँदै बीबीसीसँग भन्नुभयो,”त्यो संविधान र पार्टीको विधानबमोजिम पनि छैन, त्यसले एमालेको हित पनि गर्दैन।”

उहाँ आउँदो महाधिवेशनमा भण्डारीको सहभागिताको बाटो खुल्ने र खुल्नुपर्ने पक्षमा हुनुहुन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली तथा उहाँ निकटस्थ नेताहरूले लोकतान्त्रिक विधि, नैतिकता र मूल्यमान्यता स्थापित गर्न पनि राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा सक्रिय हुन नहुने धारणा राख्दै आउनुभएको छ।

बाटो खोल्न सक्ने बाँकी विकल्प

यस्तो परिस्थितिमा एमालेमा भण्डारीको सक्रियताको बाटो खुल्न कति सम्भव होला?

पार्टीभित्र बलियो पकड जमाएका ओलीले नेतृत्व रहँदासम्म त्यो सम्भावना कमजोर देख्नेहरू धेरै छन्।

भण्डारीले आफ्नो लक्ष्य एमालेको अध्यक्ष रहेको भन्दै आफ्नो सक्रियताको उद्देश्य बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि त्यो कुरा बताउनुभएको छ । त्यसैले ओलीलाई चुनौती दिने घोषणा नगरेको भए भण्डारीलाई एमालेले स्वागत गर्ने आकलन गर्नेहरू पनि छन्।

“म अध्यक्ष हुन्छु नभनेको भए केपी ओलीले विद्या भण्डारीलाई रोक्नुहुन्थेन”, एमालेको आन्तरिक राजनीतिबारे सूक्ष्म जानकारी राख्ने राजनीतिक विश्लेषक झलक सुवेदी भन्नुहुन्छ,”किनकि त्यसले ओलीको इगोमाथि चोट पुर्‍यायो र प्राविधिक रूपमा त्यसको बदला लिइयो।”

तर केन्द्रदेखि तल्लो तहसम्म भण्डारीको सक्रियताको आकाङ्क्षाप्रति समर्थन देखिएको पाइन्छ। त्यसले भण्डारी पक्षीय नयाँ समूहको जन्म हुन थालेको सङ्केत गर्छ।

महाधिवेशनबाट फेरि पार्टी अध्यक्ष बन्ने चाहना गरिरहेका ओली र पार्टीका निम्ति समेत आउँदो चुनावमा त्यो समूहलाई विश्वासमा लिनु चुनौतीमुक्त नहुने ठानिन्छ।

त्यसैले विश्लेषक सुवेदी आउँदो महाधिवेशनसम्ममा विद्या भण्डारीको एमालेमा सक्रियताका निम्ति बाटो खुल्ने विकल्प जीवित देख्नुहुन्छ ।

“आउँदो महाधिवेशनमा ओली नै अध्यक्ष हुने सुनिश्चिततासहित अर्को महाधिवेशनमा विकल्प तयार गर्ने गरी विद्या भण्डारीलाई सम्मानित रूपमा व्यवस्थापन गर्ने र सँगै हिँड्ने बाटो पहिल्याउने पहल हुन सक्छ”, सुवेदी भन्नुहुन्छ, “त्यो विकल्प निस्केन भने पार्टी कमजोर हुने बाटो बन्छ।”

विद्याप्रति बाहिरी सहानुभूतिका तीन कारण

एमालेले भण्डारीलाई सक्रिय हुन रोकेपछि एमालेबाहिरको वामपन्थी खेमाबाट समेत त्यसको आलोचना भइरहेको देखिन्छ।

उनीहरूले भण्डारीप्रति समर्थन र सहानुभूति राखेको पाइन्छ। विश्लेषक सुवेदीका भनाइमा यसपछाडि तीन कारण हुन सक्छन्।

 

ओली नै अध्यक्ष हुने सुनिश्चिततासहित अर्को महाधिवेशनमा विकल्प तयार गर्ने गरी विद्या भण्डारीलाई सम्मानित रूपमा व्यवस्थापन गर्दै सँगै हिँड्ने बाटो पहिल्याउने पहल हुनसक्छ
झलक सुवेदी
राजनीतिक विश्लेषक

ती तीन कारण यसप्रकार छन् :

ओलीसँगको रिसः बलियो राजनीतिक शक्तिको नेताका रूपमा ओलीले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रलगायतलाई सीमान्ततर्फ धकेल्ने भूमिका निर्वाह गरेको रिसले हुन सक्छ।
सहज सहकार्यः झलनाथ खनाल, माधव नेपाल र प्रचण्डहरूलाई ओलीसँग सँगै जान सकिँदैन भन्ने लागेको हुन सक्छ तर विद्या भण्डारी आउँदा सहकार्य सजिलो हुन्थ्यो भन्ने बुझाइ हुन सक्छ।
मान्यताको मर्मःपूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने कुरा कम्युनिस्टका निम्ति हावा कुरा हो किनकि उनीहरूले उदार लोकतन्त्रका सबै मूल्य तथा पद्धति स्वीकार गरेका छैनन्। कहाँ जिम्मेवारी लिन आवश्यक पर्छ, त्यहाँ जाने भन्ने सिद्धान्त हुन्छ। त्यो मान्यताले पनि हुन सक्छ।

वाम एकतामा विद्या सेतु, बाधक ओली ?

 

कम्युनिस्ट आन्दोलन मात्र नभई देश अघि बढाउन र लोकतान्त्रिक मूल्य(मान्यता स्थापित गर्न विद्या भण्डारीको व्यक्तित्व आवश्यक रहेको मान्यता बलियो छ, एमालेले पुँजीका रूपमा ग्रहण गर्नुपर्छ
कर्णबहादुर थापा
नेता, नेकपा एमाले

विगतमा ओलीलाई विस्थापित गरेर एमाले तहसनहस पार्न प्रचण्डले प्रयास गरेको र नेपाल(खनालहरूले सघाएको एमालेभित्र कतिपयको बुझाइ पाइन्छ।

त्यो अधुरो उद्देश्य पूरा गर्न अडान भएका ओलीलाई विस्थापित गरेर भण्डारीलाई एमालेको नेतृत्वमा पुर्‍याउने कोसिस भइरहेको उनीहरू ठान्छन्।

तर विश्लेषक सुवेदी ओलीले एमालेको रक्षा गरेको कुरा स्वीकार गर्नुहुन्न।

“ओलीसँग रहेको एमालेको झण्डावरिपरि एमालेको बाँकी शक्तिलाई एकताबद्ध राखिरहन र जनमत धेरै खस्किन नदिन उहाँको व्यक्तित्वको भूमिका महत्त्वपूर्ण रह्यो”, तर उहाँले पार्टी जोगाएको कुरा अस्वीकार गर्दै सुवेदी भन्नुहुन्छ, “अहिलेका अन्य जो नेता आए पनि पार्टी चल्छ किनकि यो व्यक्तिले बनाएको होइन, यो त सामूहिक कुरा हो।”

कतिपयले ओलीलाई वामपन्थी एकताको बाधक भन्दै विद्या भण्डारी चाहिँ त्यस्तो एकताको सेतु बन्न सक्ने पात्रको रूपमा पनि बुझ्ने गरेको पाइन्छ।

त्यसैले भण्डारीको आगमन समग्र वामपन्थी आन्दोलनलाई लाभ पुर्‍याउने कदम हुने बुझाइ पनि हो कि?

एमाले नेता कर्णबहादुर थापा व्यक्तिलाई त्यस रूपमा प्रस्तुत गर्नु वाञ्छनीय ठान्नुहुन्न किनकि ओलीले पनि विगतमा एकता गरेको र फेरि पनि गर्न सक्ने उहाँको बुझाइ छ।

तर अहिले फेरि साझा व्यक्तित्वको खोजी भइरहेको थापा बताउनुहुन्छ।

“कम्युनिस्ट आन्दोलन मात्र होइन, देश अघि बढाउन र लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्न विद्या भण्डारी आवश्यक व्यक्तित्व हो भन्ने मान्यता निकै प्रभावशाली छ”, थापा भन्नुहुन्छ, “एमालेले त्यो मनोविज्ञानलाई पुँजीका रूपमा ग्रहण गर्न सक्नुपर्छ।”

तर राजनीतिक अडानका दृष्टिले ओली र भण्डारीबीच खासै भिन्नता नभएको विश्लेषक सुवेदीको बुझाइ छ।

उहाँ भन्नुहुन्छ, “त्यसैले विद्या भण्डारी नेतृत्वमा आउँदैमा उनीहरू(अन्य वाम दल)ले भने जस्तै हुन्छ भन्ने बुझाइ गलत हो।”

Share Now