ललितपुर, २१ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
महाधिवेशनमा सातवटै प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरी छलफल सुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार सात प्रदेश कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूको छुट्टाछुट्टै समूह विभाजन गरिएको छ ।
त्यसैगरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय आयोजक गरी १० वटा समूह विभाजन गरिएको छ ।
फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।
बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गर्नुभएको हो । अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गर्नुभयो ।
उक्त आग्रहप्रति हलमा तालीको समर्थन गरिएको थियो । अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरु पर्चामार्फत् शुक्रबार हलमा वितरण गर्नुभएको थियो । शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तवेज प्रस्तुत गर्नुभएको थियो ।
दोस्रो दिन आज केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ती सबै प्रतिवेदनमा छलफल गर्नका लागि गठित दश समूहले आज दिनभर छलफल गर्नेछन् ।
समूहको टोली नेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ ।
महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी आज केन्द्रीय अनुशासन आयोगकातर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगकातर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगकातर्फबाट अध्यक्ष डा विजय सुब्बा आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता छ ।


















