Prakash Adhikari September 6, 2025
काठमाडौँ, २१ भदौः  आज उपत्यकाका तीनै शहरमा नेपालको मौलिक इन्द्रजात्रा पर्व मनाइएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुग्नुभएको हो ।
विसं २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थाल्नुभएको हो । उहाँसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुग्नुभएको उहाँका प्रेस संयोजक खिला कार्कीले राससलाई जानकारी दिनुभयो ।
जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिनुभएको थियो । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।
आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख राजेन्द्र दाहालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार माथिल्लो टोलमा रथयात्रा गराइने छ ।
यहाी भदौ २६ गते बिहीबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहेको छ ।
भदौ २६ गते राति १०ः३२ बजे इन्द्रध्वज पातन गरेपछि दुई साताभन्दा लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई स्थानीयवासीले घिसार्दै लगी टेकु दोभानस्थित बागमती किनारमा पु¥याएर सेलाउने परम्परा रहेको धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु भएको थियो । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायत विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।
इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।
वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।
ललितपुरमा मनाइयो इन्द्रजात्रा
 वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी मनाइने परम्परागत सांस्कृतिक पर्व इन्द्रजात्रा आज ललितपुरमा पनि सम्पन्न गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्रा काठमाडौँ र भक्तपुरमा ऐतिहासिक कालदेखि चलिआएको भए पनि ललितपुरमा भने पछिल्ला तीन वर्षदेखि मात्रै औपचारिक रूपमा मनाउन थालिएको हो ।
इन्द्रजात्रा सञ्चालन उपभोक्ता समिति र ललितपुर महानगरपालिका–१ को सहकार्यमा यो वर्षको इन्द्रजात्रा विविध कार्यक्रमसहित सम्पन्न गरिएको हो । ललितपुर– १ का वडाध्यक्ष निर्मल तण्डुकारका अनुसार उपत्यकाका तीनवटै सहरमा प्राचीन समयदेखि मनाइँदै आइएको यो पर्व ललितपुरमा केही समय हराएको थियो । विसं २०८१ देखि वडाले इन्द्रजात्रालाई पुनः सुरु गर्दै परम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेलेको उहाँले बताउनुभयो ।
जात्राको प्रारम्भ बिहान १०८ जना कुमारीे पूजा गरेर गरिएको थियो । त्यसपछि दिउँसो २ बजेदेखि खट जात्राको परिक्रमा गरिएको थियो । सङ्कटमार्ग मन्दिर परिसरबाट सुरु भएको जात्रा गुसिङ्गाल चोक, सङ्कटा मार्ग हाइट, लिलाघर, कुमारी मन्दिर, क्याम्पियन कलेज, नानीचा चोक, गणेश मन्दिर, अमिर शिशु स्कुल, बिगमार्ट, तीन खम्बा चोक, भजन मण्डल हुँदै पुनःमन्दिर परिसरमा पु¥याएर सम्पन्न गरिएको वडाध्यक्ष तण्डुकारले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दाले जात्रा पुनः सुरु गरेर सांस्कृतिक सम्पदाको संरक्षणमा वडाले उदाहरणीय कार्य गरेको भन्दै खुसी व्यक्त गरेका छन् । यस्ता जात्राहरूले समुदायमा एकता, संस्कृति र पहिचानको संरक्षणका साथै पुस्तान्तरण गराउने स्थानीय उमेश तण्डुकारले बताउनुभयो ।
आइतबार मिप्वा लाखेनाच र त्यसपछिको परिक्रमा पश्चात् यस वर्षको इन्द्रजात्रा समापन गरिनेछ । वडाध्यक्ष तण्डुकारले आगामी वर्षहरूमा इन्द्रजात्रालाई अझ भव्य र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुरमा आजदेखि इन्द्र जात्रा सुरु
भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज भक्तपुरमा इन्द्र जात्रा सुरु भएको छ ।
आज स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा गरी ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पु¥याएर जात्रा मनाउछन् ।
इन्द्र दह अर्थात् सिद्धपोखरीमा इन्द्रायणी देवता पुर्याएपछि आज साँझदेखि रातभरि र भोलि दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ । आज रातभर जात्रा गरी भोलि पूर्णिमामा दिनभर मेलासँगै साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएपछि इन्द्र जात्रा सम्पन्न हुने परम्परा छ ।
नेपाल संवत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको संस्कृतकर्मी यज्ञ जोशीले जानकारी दिनुभयो ।
स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । उहाँले यसलाई ‘ञँकीदह’ पनि भन्ने गरिएको उहाँ बताउनुहुन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलीमिली बनाउने प्रचलन छ ।
कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झना स्वरुप इन्द्र दहमा मेला लाग्ने गरेको इतिहासविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ । राजतन्त्रको पराजय र जनताको विजयीका रुपमा पनि यो जात्रा मनाइने श्रेष्ठको भनाइ छ ।
Share Now