Prakash Adhikari September 7, 2025

– मिशेल रोबर्ट्स
डिजिटल हेल्थ सम्पादक, बीबीसी न्यूज

लण्डन(संयुक्त अधिराज्य), २२ भाद् । के अङ्ग प्रत्यारोपणको मद्दतबाट अमरत्व प्राप्त गर्न सम्भव छ? यो साता बेइजिङमा आयोजित सैन्य परेडमा सहभागी हुने क्रममा भेट हुँदा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको आपसी वार्तालापमा अप्रत्यासित रूपमा यो विषयमा चर्चा भयो।

पुटिनले बोलेको कुरालाई अनुवादकले चिनियाँ म्यान्डरिन भाषामा उल्था गर्दै सीलाई कसरी मानव अङ्गहरू पटकपटक प्रत्यारोपण गर्न सकिन्छ र त्यसले उमेर छिप्पिए पनि मानिसलाई ‘झन् झन् युवा हुन सघाउँछ’ अनि सायद बुढ्यौलीलाई ‘अनिश्चित् कालसम्म’ पर धकेल्न सक्छ भनेर बताउनुभएको थियो।

“यो शताब्दीभित्र मानिसहरू १५० वर्षसम्म बाँच्न सक्ने छन् भनेर प्रक्षेपण गरिएको छ”, उहाँले भन्नुभयो।

ती दुई नेताहरूको मुस्कान र हाँसोले ठट्यौलो शैलीमा उक्त कुराकानी गरेको जस्तो लाग्थ्यो, तर के त्यो कुराकारीमा केन्द्रित विषय साँच्चिकै सम्भव छः

हामी किन मर्छौँ? के अमरत्व सम्भव छ?

अङ्ग प्रत्यारोपणले वास्तवमा धेरै जीवन जोगाउँछ -यूकेमा मात्रै गत ३० वर्षमा १ लाख मानिसको ज्यान जोगाउन सकिएको एनएचएस ब्लड एन्ड ट्रान्सप्लान्टले जनाएको छ।

औषधि विज्ञान तथा प्रविधिमा भएको निरन्तर विकासले प्रत्यारोपित अङ्गहरू झन् झन् लामो समय काम गर्न सक्ने भएका छन्।

कतिपय बिरामीहरूमा गरिएको मिर्गौला प्रत्यारोपणले ५० वर्षभन्दा धेरै समयसम्म काम गरिरहेको पाइएको छ।

अङ्ग कति लामो समय टिक्छ भन्ने विषय अङ्ग दाता तथा ग्रहण गर्ने दुवै कति स्वस्थ्य छन् भन्नेमा निर्भर हुन्छ ( साथै प्रत्यारोपणपछि त्यसको हेरचाह कसरी गरिएको छ भन्नेमा पनि भर पर्छ।

उदाहरणका लागि यदि तपाईँले जीवित दाताबाट नयाँ मिर्गौला लिनुहुन्छ भने त्यसले २० देखि २५ वर्ष काम गर्ने तपाईँको अपेक्षा रहला।

यदि मृत दाताबाट लिनुहुन्छ भने १५ देखि २० वर्षमात्र काम गर्ला।

अङ्गको प्रकारले पनि यो विषय निर्देशित गर्छ।

कलेजो २० वर्षसम्म टिक्न सक्छ भने मुटु १५ वर्ष अनि फोक्सो १० वर्ष टिक्न सक्ने जर्नल अफ मेडिकल इकोनोमिक्समा प्रकाशित अध्ययनमा उल्लेख छ।

अमरत्वतर्फको यात्रा

पुटिन र सीले सायद एकभन्दा धेरै अङ्गको अनि पटकपटक प्रत्यारोपणका कुरा गरेका होलान्।

तर शल्यक्रिया गर्नु भनेको निकै जटिल र जोखिमपूर्ण काम हो। हरेक पटक शल्यक्रिया गर्दा तपाईँ खतरासँग जुझ्नु हुन्छ।

अहिलेको सन्दर्भमा अङ्ग प्रत्यारोपण ग्रहण गर्ने बिरामीले कडा औषधिहरू जीवनभर खाइरहनु पर्छ। इम्युनोसप्रेसन्ट भनिने ती औषधिले तपाईँको शरीरलाई अर्काको शरीरको अङ्ग अस्वीकार गर्नबाट रोक्छ। अनि उच्च रक्तचाप तथा सङ्क्रमणका बढ्ता जोखिम जस्ता यसका अन्य दुष्प्रभाव पनि रहन्छन्।

शरीरले अस्वीकार गर्नु भनेको चाहिँ के हो भने अन्य व्यक्तिको अङ्गलाई तपाईँको शरीरले बाह्य तत्त्व भन्ने बुझेर आक्रमण गर्न सक्छ। औषधि लिँदा पनि कहिलेकाहीँ यस्तो भइहाल्छ।

तपाईँकै निम्ति बनाइएका अङ्ग

आनुवंशिक परिवर्तन गरिएका सुङ्गुरबाट निकालिएका अङ्गलाई मानव शरीरले अस्वीकार नगर्ने किसिमले बनाउन वैज्ञानिकहरू काम गरिरहेका छन्।

क्रिस्पर नामक जीन सम्पादन गर्ने विधि उनीहरूले प्रयोग गर्छन् ताकि सुङ्गुरका केही जीन हटाएर तिनको ठाउँमा मानव जीन राखिन्छ जसले गर्दा त्यो मानव शरीरका लागि मिल्न सक्छ।

यो कार्यका लागि विशेष प्रकारका सुङ्गुरको विकास गर्नु उत्तम हुने विज्ञहरू बताउँछन् किनभने तिनको अङ्गको आकार लगभग मानव अङ्गको आकारसँग मिल्छ।

यो विज्ञान अझै सुरुवाती चरणमा छ तर एउटा मुटु र एउटा मिर्गौलाको शल्यक्रिया भइसकेको छ।

दुई पुरुष जसले यी शल्यक्रिया गर्न स्वीकार गरे ती यस प्रत्यारोपण क्षेत्रका अग्रणी थिए।

ती दुवैको अहिले मृत्यु भइसकेको छ तर तिनले जेनोट्रान्सप्लान्टेशन ( एक प्रजातिको जीवबाट अर्को प्रजातिको जीवमा जीवित तन्तु, कोष वा अङ्ग प्रत्यारोपण गर्ने काम)  लाई उन्नत बनाउन मद्दत गरे।

अनुसन्धान भइरहेको अर्को उपाय चाहिँ हामी मानवकै कोषको प्रयोग गरेर नयाँ अङ्ग बनाउने हो।

स्टेम सेलहरू जुनसुकै किसिमका कोष वा तन्तुका रूपमा विकास हुन सक्छन्।

हालसम्म कुनै अनुसन्धानकर्ता समूहले त्यसबाट पूर्ण क्रियाशील हुनसक्ने अनि प्रत्यारोपण गर्न सकिने अङ्गको विकास गर्न सकेका त छैनन्, तर वैज्ञानिकहरू परिणाम नजिक पुगिरहेका छन्।

सन् २०२० को डिसेम्बरमा यूकेको अनुसन्धान संस्था यूसीएल एन्ड द फ्रान्सिस क्रिक इन्स्टिच्युटले स्टेम सेल तथा बायोइन्जिनियरिङ् गरिएको स्काफोल्डको प्रयोग गरेर मानव थाइमस ( इम्युन सिस्टमको अत्यावश्यक अङ्ग)को पुनर्विकास गरे।

प्रयोगका निम्ति मुसामा त्यसको प्रत्यारोपण गर्दा त्यसले काम गर्‍यो।

साथै लण्डनको ग्रेट अर्मन्ड स्ट्रीट हस्पिटलले बिरामीको स्टेम सेल प्रयोग गरेर मानव आन्द्राको ग्राफ्ट बनाउन सकिएको बताएको छ। त्यसले एक दिन बालबालिकाहरूको आन्द्रा प्रत्यारोपण गर्न सकिने बताइयो।

तर यी विधिहरू भनेको बिरामीहरूको उपचारका निम्ति हुन् न कि मानिसलाई १५० वर्ष बाँच्न सघाउनका निम्ति।

यसबीच आफ्नो जैविक उमेर उल्ट्याउन प्रविधि उद्यमी ब्रायन जन्सनले बर्सेनि करोडौँ खर्च गर्नुभएको छ।

जहाँसम्म हामीलाई थाहा छ उहाँले नयाँ अङ्ग प्रत्यारोपणको कोसिस चाहिँ गर्नुभएको छ । आफ्ना १७ वर्षीय छोराको प्लाज्मा भने आफ्नो शरीरमा हाल्नुभएको छ।

तर त्यसले कुनै फाइदा नदिएपछि अनि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनजस्तो नियामक निकायको बढ्दो निगरानीका कारण उहाँले त्यसो गर्न छाड्नुभयो।

अङ्ग प्रत्यारोपणका अतिरिक्त प्लाज्मा विस्थापनजस्ता शैलीहरूको अध्ययन भइरहेको तर ती प्रारम्भिक चरणमै रहेको किङ्स कलेज लण्डनका डा जुलियान मुट्जले बताउनुभयो ।

“त्यस्ता विधिले मानिसको आयुमा कुनै अर्थपूर्ण प्रभाव पार्छ कि पार्दैन, खासगरि अधिकतम उमेर कति पुर्‍याउँछ, भन्ने विषय अझै अनिश्चयपूर्ण छन्। तर यो क्षेत्रमा उल्लेखनीय वैज्ञानिक रुचि छ।”

युनिभर्सिटी अफ एडिनबराको रोजलीन इन्स्टिच्युटमा इम्युनोप्याथोलोजीका विज्ञ प्राध्यापक नील माबोट १२५ वर्षसम्म बाँच्ने नै अधिकतम सीमा हुने अनुमान गर्नुहुन्छ ।

“प्रामाणिक तथ्यका आधारमा सबभन्दा लामो उमेर बाँचेको भनेको फ्रेन्च महिला जाँ काल्म हुनुहुन्थ्यो जो सन् १८७५ देखि १९९७ सम्म १२२ वर्ष बाँच्नुभयो”, उहाँले बीबीसी न्यूजसँग भन्नुभयो ।

बिग्रिएका वा रोगले ग्रस्त अङ्गलाई विस्थापन गर्न सकिए पनि उमेर ढल्कँदै गएपछि हाम्रो शरीरसँग त्यस्ता दबाव थेग्ने क्षमता कम हुँदै जान्छ।

“हामी सङ्क्रमणसँग जुझ्न कम प्रभावकारी हुँदै जान्छौँ अनि हाम्रा शरीर शिथिल तथा सहजै चोट पुग्ने हुन जान्छ। निको हुने क्षमता पनि घट्छ।”

“प्रत्यारोपण शल्यक्रियाको तनाव तथा प्रभाव अनि निरन्तर इम्युनोसप्रेसिभ औषधि खानु पर्दा धेरै उमेरका मानिसहरूले थेग्न कठिन हुन्छ।”

त्यसैले उमेर तन्काउने तर्फ भन्दा बाँचेको समय स्वस्थ्य रूपमा बाँच्न सक्ने तर्फ ध्यान केन्द्रीत गर्नु पर्ने उहाँले बताउनुभयो ।

प्राध्यापक माबोट भन्नुहुन्छ, “आफ्नो अवकाशप्राप्त जीवनको अवधि लम्ब्याउने तर त्यो अवधिमा उमेरसँगै आउने विविध जटिलता झेल्दै एकपछि अर्को तन्तु प्रत्यारोपण गरेर अनि निरन्तर अस्पताल ओहोरदोहोर गरेर बाँच्ने भनेको मलाई रुचिकर लागेन !”

 

Share Now