Prakash Adhikari September 8, 2025

 

काठमाडौं, २३ भाद्र । नयाँ पुस्ताको दैनिक जीवनको अभिन्न अंग बनेको र कतिपयको व्यवसायसंग प्रत्यक्ष जोडिएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र देशमा मौलाउदै गएको भ्रष्टाचारको विरोधमा नयाँ पुस्ता अर्थात ‘जेन जी’ ले आज भदौ २४ गतेबाट विरोध प्रदर्शन सुरु गर्ने भएको छ ।

प्रदर्शनकारीहरुले माइतीघर मण्डला र संसद् भवन अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । देशमा भइरहेको भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा नयाँ पुस्ताले आजदेखि आन्दोलन सुरु गर्न लागेका हुन्।

 

यो आन्दोलनको नेतृत्व कसले गरेको हो भन्ने अझै स्पष्ट भएको छैन, तर अभियानलाई समर्थन गर्ने अधिकांश ‘जेन जी’ पुस्ताका युवाहरुको सहभागिता रहने अनुमान गरिएको छ। आन्दोलनलाई काठमाडौं महानगरका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आधिकारिक रुपमा समर्थन गरेका छन् । यो अभियानमा सामाजिक अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पनि जोडिन पुगेका छन् ।

जेन जीले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए। उनीहरुको आन्दोलन आज बिहान ९ बजेदेखि शुरु हुनेछ। बिहान ९ बजे भेला भएर ११ बजेतिर बानेश्वरसम्म मार्च गर्ने तयारी रहेको बताइएको छ।

Share Now