काठमाडौं, २३ भाद्र। सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धले आक्रोशित जेन जी अर्थात नयाँ पुस्ताले आजदेखि सुरु गरेको प्रदर्शनले काठमाडौंको माइतीघर नयाँ बानेश्वर सडक ढपक्कै ढाकिएको छ ।
अभिव्यक्तिको माध्यम बनेको र कतिपयको व्यवसाय विस्तारको माध्यम बनेका सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्महरुलाई बन्द गरेकोमा सरकार विरुद्ध आक्रोशित बनेको यो नयाँ पुस्ताले भ्रष्टाचारको विरुद्ध पनि नारा सारेको छ ।
अभिव्यक्ति स्वतन्त्रता र भ्रष्टाचार विरोधी नारासहितका प्लेकार्ड बोकेका नवयुवाहरुको जुलुस माइतीघरबाट बबरमहल, बिजुलीबजार हुँदै संसद भवनतर्फ बढेर नयाँबानेश्वर आइपुगेको छ । प्रदर्शनमा सहभागीहरू नारा लगाउँदै बानेश्वर आइपुगेका हुन् ।
बानेश्वरमा प्रहरीले प्रदर्शनकारीलाई ब्यारिकेड राखेर रोकेको छ । प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा सहितका प्लेकार्ड बोकेका छन् ।
देशमा व्याप्त भ्रष्टाचार र अव्यवस्थालाई हटाउन सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् ।
सडक ढाकेर प्रदर्शन गरेका कारण सो सडकमा सवारी आवागमन प्रभावित भएको छ ।
उनीहरूलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।
कलेज ड्रेसमै विरोध प्रदर्शनमा जेनजी
देशमा व्याप्त बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन आएका नयाँ पुस्ता कलेज ड्रेसमा पनि देखिएको छ ।
आजको प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ ।


















