Prakash Adhikari September 9, 2025

 

काठमाडौं, २४ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ भदौ, काठमाडौंमा पदबाट राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको राजिनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्नुभएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको जानकारी दिनुभएको छ ।

जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै पदबाट राजीनामा दिनुभएको थियो ।

सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन मंगलबार कर्फ्यू लगाउदा पनि नरोकिएर उग्र बनेपछि अन्ततः प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य हुनुभएको हो ।

जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार सुरक्षार्थ खटिएका प्रहरीहरुले संयम राख्न नसक्दा एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए ।

सडकमा समवयी साथीहरुको रगत पोखिएको र आफ्नो अगाडी जीवन लिला समाप्त भएको देखेका युवाहरु मंगलबार बिहानैदेखि सडकमा प्रदर्शन उत्रिए ।

सो क्रममा युवाहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, संसद भवन र नेपालको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको गेटमा पनि आगजनी गरे ।

सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरू र जिल्ला सदरमुकाममा प्रदर्शन भइरहेको छ ।

शीर्ष नेताका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।

देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।

राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र मन्त्रीहरुका निवास तोडफोड र आगजनी

जेन जीको पहिलो प्रदर्शनलाई प्रहरीले गोली प्रहार गरेर रक्तरञ्जित बनाएपछि चर्केको सरकारविरुद्धको आन्दोलन शासकहरुविरुद्ध खनिन पुगेको छ ।

आन्दोलनको दोस्रो दिन आन्दोलनकारीलाई रोक्न उपत्यकामा सरकारले कर्फ्यू लगाए पनि आन्दोलनकारीहरु बिहानै देखि सडकमा निस्केर सत्ताधारीका निवासमा आगजनी र तोडफोड भएका छन्।

आन्दोलनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा आगो लगाएका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढालीलकण्ठमा पनि आगजनी भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा तोडफोड भएको छ ।

गृहमन्त्री रमेश लेखकको कलंकीस्थित घरमा बिहानैदेखि आगजनी भएको छ ।

भैंसेपाटीस्थित मन्त्री निवासमा पनि आगजनी भएको छ ।

परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित निवास तोडफोड र आगजनी भएको छ ।

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित घरमा आगजनी भएको छ ।

ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठ निवासमा आगजनी भएको छ ।

कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित निवासमा आगजनी भएको छ ।

एमालेका सचिव रघुविर महासेठको निवासमा आगजनी भएको छ । त्यस्तै एमाले नेता सुरेन्द्र पाण्डेको निवासमा पनि तोडफोड भएको छ ।

अहिले सुरक्षाकर्मीहरुले नेताहरुलाई सुरक्षित स्थानमा नेताहरुलाई ओसारिरहेका छन् ।

Share Now