Prakash Adhikari September 9, 2025

काठमाडौं, २४ भाद्र । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गर्नुभएको छ ।

मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’

उहाँले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उहाँले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गर्नुभएको छ।

प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ।’

सिग्देलले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा सरोकारवालाको सुरक्षामा प्रतिकूल असर नपार्ने कुरामा जोड दिनुभयो।

उहाँले मातृभूमि र देशको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

नेपाली सेनालगायत अन्य सुरक्षा निकाय राति १० बजेदेखि परिचालन

नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि परिचालित हुने भएको छ ।

सेनाले विज्ञप्तिमार्फत हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न नगराउन आग्रह गरेको हो ।

सेनाले यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न रातिको १० बजेदेखि दृढ रहने प्रतिबद्ध जनाएको छ ।

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल समेत गर्दै तत्पश्चात, सुरक्षा स्थितिको पुनःमूल्याङ्कन गरी थप सूचना जारी गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
–––

Share Now