काठमाडौं, २५ भाद्र । प्रधानमन्त्री के.पी. शर्मा ओलीको आकस्मिक राजिनामा पछि रिक्त रहेको मुलुकको कार्यकारी प्रमुख संविधानबाहिरबाट नियुक्त गर्न आन्दोलनकारी जेनजीका प्रतिनिधिहरुले प्रधान सेनापतिसंग प्रस्ताव गरेका छन् ।
आज अपरान्ह जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा उनीहरुले पूर्वप्रधानन्यायाधीश शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेका हुन् ।
यद्यपि नेतृत्वविहिन जेनजी पुस्ताका प्रतिनिधिहरु यो विषयमा विभाजित छन् । जेन जीले देशभर आन्दोलन चलाएको हुनाले आन्दोलन चर्किएका जिल्ला वा शहरका जेनजी प्रतिनिधिहरुको उपस्थितिमा बहुमतद्धारा भावि प्रधानमन्त्रीको नाम प्रस्ताव गरिनुपर्छ भन्ने मत पनि जेनजीका काठमाडौंमा उपलब्ध प्रतिनिधिहरुले दह्रोसंग राखेका छन् ।
तर नयाँ अन्तरिम सरकार गठनमा राष्ट्रपतिलाई सहजीकरण गर्ने कार्यको संयोजन गरिरहनुभएका प्रधान सेनापति लामो समय सरकारविहिन अवस्था तन्काउने पक्षमा हुनुहुन्न । उहाँले हिजो राति र आज भएको पहिलो बैठकमा जेनजीका प्रतिनिधिहरुलाई एक सयोजक तोकेर आउन आग्रह गर्नुभयो । दोस्रो बैठकमा भावि प्रधानमन्त्रीको नाममा जेनजी प्रतिनिधिहरु विभाजित भए । कसैले काठमाडौंका मेयर बालेको छवि स्वच्छ भएकोले उहाँलाई नै भावि सरकारको नेतृत्व दिनुपर्ने प्रस्ताव राखे भने केहीले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन उपयुक्त हुने प्रस्ताव राखे ।
अन्त्यमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई काठमाडौंका नगरपिता बालेनको पनि साथ छ भन्ने जानकारी आयो भनेर कार्कीको नाममा सहमति भएको घोषणा गरियो ।
यो प्रस्तावलाई मन नपराउने प्रतिनिधिहरुले वार्ता छोडेर बाहिरिएका थिए । सैनिक मुख्यालय अगाडि उपस्थित भएको भीडले भावि प्रधानमन्त्रीको रुपमा बालेनलाई अगाडि सार्न माग गरिरहेको छ । धरान नगरपालिकाका मेयर हर्कसाम्पाड. पनि आफू प्रधानमन्त्रीको लागि योग्य भएको भन्दै लबिइड. गरिरहनुभएको छ ।
सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ ।
बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।
धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए ।
मंगलबार बेलुकी काठमाडौंका नगरपिता बालेनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन सुझाव दिनुभएको थियो।
बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए । तर, १५ जनाभन्दा बढी छलफलका लागि पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले पहिले आपसमा सहमति गरेर आउन सल्लाह दिनुभयो। उहाँले संयोजक समेत तोकेर आउन आग्रह भनेपछि जेनजी प्रतिनिधिहरु जंगीअड्डाकै एउटा कोठामा बैठक गरेर पुनः प्रधानसेनापति सामु उपस्थित भएका थिए ।
त्यसक्रममा कतिपयले गणान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका थिए । त्यही कारण रक्षा बमसहितको समूह बाहिरिएको थियो ।


















