काठमाडौं, ३ असोज । अर्थ मन्त्री रामेश्वर खनालले मन्त्रालय अन्तरगतका निकायमा देखिएका समस्या समाधान गर्न शीघ्र कदम चाल्नुभएको छ ।
आन्दोलनका कारण एकहप्ता भन्दा बढी समय बन्द भएर असोज २ गते बिहिबार खुलेको धितोपत्रको दोस्रो बजार ६ प्रतिशतले घटेर कारोबार बन्द भएको भोलिपल्ट संविधान दिवसको बिदा परेपनि मन्त्री खनालले समस्याको कारण खोजी निराकरण गर्न चार सदस्यीय कार्यदल गठन गर्नुभएको छ ।
पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ५ दिनभित्र प्रस्तुत गर्ने प्रयोजनार्थ गठन गरिएको कार्यदलको संयोजकमा नेपाल धितोपत्र बोर्डका कामु निर्देशक रुपेश के.सी. हुनुुहुन्छ । सदस्यहरुमा ।नेपाल राष्ट्र बैङ्कका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कामु कार्यकारी निर्देशक रन्जन फूयाल रहनुभएको छ भने अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य सचिव रहनुभएको छ।


















