Prakash Adhikari September 20, 2025

 

काठमाडौं , ४ भाद्र । जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६ सय २९ भवनमा पूर्ण रूपमा क्षति भएको छ । उक्त आन्दोलनमा १ हजार ५ सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ ।

आन्दोलनका समयमा भएको तोडफोड र आगजनीका कारण ती भवनहरूमा क्षति भएको नेपाल प्रहरीले संकलन गरेको प्रारम्भिक विवरणमा उल्लेख भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त आन्दोलनमा नेपाल प्रहरीका मात्रै १ सय ७७ वटा भवन पूर्ण रूपमा क्षति भएको छ । प्रहरीका २ सय ५८ वटा भवनमा आंशिक क्षति भएको प्रवक्ता घिमिरेले बताउनुभयो । तोडफोड र आगजनीबाट ३ सय १० वटा सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ । प्रारम्भिक विवरणमा कूल ८ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।

यस्तै ९७ वटा व्यापारिक तथा नीजि भवन पूर्ण रूपमा क्षति भएको र २ सय ९२ वटा व्यापारिक तथा निजी भवनमा आंशिक रुपमा क्षति पुगेको छ । यस्तै विभिन्न राजनीतिक दलका ४५ वटा पार्टी कार्यालय पूर्ण क्षति भएको छ भने १ सय ७४ वटा कार्यालयमा आंशिक क्षति भएको प्रहरीले संकलन गरेको विवरणमा उल्लेख रहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभएको छ।

क्षतिको पूरा मूल्यांकन भने अझै भइनसकेको र क्षतिको विवरण संकलनको क्रम भने जारी रहेको उहाँले बताउनुभयो।

Share Now