Prakash Adhikari September 21, 2025

काठमाडौँ, ५ असोज। नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले यही असोज ९ गते बिहिवारदेखि देखि चीनको ग्वाञ्जाओ सहरमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलो पटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सेवा सुरु गर्न लागेको हो।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नियमित उडानको लागि सबै प्राविधिक तयारी पूरा भईसकेको जानकारी दिनुभएको छ। निगमले ग्वाञ्जाओ नियमित उडानका लागि नेपालको नागरिक उड्डयन प्राधिकरण र चीनको नागरिक उड्डयन प्रशासन(सिभिल एभिएसन एड्मिनिष्ट्रेशन अफ चाइना)बाट अनुमति लिइसकेको छ । निगमले हरेक हप्ता काठमाडौं ग्वानझाओ काठमाडौं तीन वटा नियमित उडान गर्ने छ । उडान तालिका अनुसार पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान हुनेछ । त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको निगमले जनाएको छ ।

लामो समयको प्रयासपछि चीनको यस महत्त्वपूर्ण सहरमा उडान सेवा विस्तार गर्न निगमलाई सफलता प्राप्त भएको अध्यक्ष अधिकारीले बताउनुभएको छ । निगमले काठमाडौँबाट दक्षिण कोरिया र अस्ट्रेलियाको सिड्नीतर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

अहिले ग्वाञ्जाओ-काठमाडौँ–ग्वाञ्जाओ गन्तव्यमा चीनको चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रुटमा नियमित उडान गर्दै आएको छ । चिनिया सामानहरु आयात गर्ने मुख्य बजारको रुपमा रहेको ग्वाञ्जाओको सीधा उडानले निगमलाई आर्थिक रूपमा लाभ हुने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय गन्तव्य पुग्यो ११

नेपाल वायुसेवा निगमदृ ग्वाञ्जाओ उडानसँगै नौ देशका ११ गन्तव्यमा नियमित उडान सेवा दिने भएको छ । हाल निगमसँग अन्तर्राीष्ट्य उडानमा दुई न्यारोबडी र दुई वाइडबडी जहाज छन् । चारवटा जहाजले निगमले भारतको दिल्ली, मुम्बई र बैङ्गलुरु, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, थाइल्याण्डको बैङ्कक, साउदी अरबको दमाम र जापानको नारितामा नियमित अन्तर्राष्ट्रिय उडान सेवा दिइरहेको छ ।

 

Share Now