काठमाडौं, ५ असोज । जेन जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते देशभरि भएका मानवीय तथा भौतिक क्षतिबारे छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभएको छ ।
आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले पाउनुभएको छ। “आयोगका सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी हुनुहुन्छ”, बैठकपछि मन्त्री अर्यालले भन्नुभयो।
कानुनमन्त्री अर्यालका अनुसार जाँचबुझ आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ।
गत साता बीबीसी नेपालीसँगको एउटा विशेष अन्तर्वार्ताका क्रममा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले ३० दिनमा पूरा नभएको खण्डमा आयोगलाई अर्को १५ दिन म्याद थप्न सकिने बताउनुभएको थियो ।
यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले छानबिन आयोग गठनबारे सैद्धान्तिक सहमति जुटाएको थियो।
सरकारी विवरणअनुसार जेन जी आन्दोलनका क्रममा हालसम्म ७४ जनाको ज्यान गएको पुष्टि भएको छ।
त्यस्तै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि सर्वोच्च अदालतसम्मका भौतिक संरचना ध्वस्त भएका छन्।
अधिकारीहरूका अनुसार अधिकांश भवनहरूमा ६० प्रतिशतभन्दा धेरै क्षति पुगेको पाइएको छ।
प्रदर्शनका क्रममा पाँचतारे होटलदेखि निजी व्यापारिक किनमेल केन्द्रमा पनि आगजनी तथा तोडफोडका घटना भएका छन्।
होटलमाथि भएका आगजनी तथा तोडफोडका घटनाले नेपालको पर्यटन क्षेत्र तथा वैदेशिक लगानीको सन्दर्भमा नकारात्मक सन्देश गएको व्यसायीहरूले बताइरहेका छन्।
हाल नेपाल इन्जिनियर एशोसिएशन र सहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा क्षतिग्रस्त सरकारी संरचनाहरूको प्रारम्भिक क्षति आकलन गरिरहेका छन्।
क्षति आकलनमा संलग्न सरकारी निकाय सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले पनि कतिपय भवनमा संरचनामै क्षति पुगेको पाइएको बताउनुभयो।
प्रारम्भिक जाँचका दौरान तत्काल बस्न नमिल्ने भवनहरूमा रातो स्टिकर र कुनै भाग जीर्ण भए पनि कुनै भाग सद्दे भएर बस्न मिल्ने ठाउँमा पहेँलो स्टिकर लगाइएको नेपाल इन्जिनियर एशोसिएशनका उपमहासचिव अनिल मानन्धरले मानन्धरले बताउनुभयो।
उहाँका अनुसार सामान्य क्षति मात्र भएका ठाउँमा हरियो स्टिकर दिइएको छ। सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, स्वास्थ्य मन्त्रालय, बार एशोसिएशनको भवनमा चाहिँ रातो स्टिकर लगाइएको छ।


















