Prakash Adhikari September 24, 2025

 

  • केली अङ

सिंगापुर, ७ असोज । दक्षिण कोरियामा राजनीतिक र व्यापारिक फाइदा पाउन तात्कालिक प्रथम महिलालाई घुस दिएको आरोप लागेको विवादास्पद यूनिफिकेशन चर्चकी प्रमुख पक्राउ पर्नुभएको छ।

हान हाकजको नेतृत्वमा रहेको सो चर्चमाथि तात्कालिक राष्ट्रपति यून सुक यउलकी पत्नी किम गन हीलाई दुइटा महँगा शनेल ब्रान्डका ब्याग र एउटा हीराको हार दिएको आरोप लागेको छ। ती सामानको मूल्य ८ करोड वोन (५७,९०० अमेरिकी डलर, ८२ लाख नेपाली रुपैयाँ) पर्छ।

सो चर्चका संस्थापक सन म्यङ मूनकी ८२ वर्षीया पत्नी हानले घुस खुवाएको आरोप बारम्बार खण्डन गर्दै त्यसलाई झुटो भन्दै आउनुभएको छ। सनको निधन भएपछि यूनिफिकेशन चर्च उहाँको नेतृत्वमा छ।

उक्त चर्चले सम्बन्धित निकायसँग सहकार्य गर्ने र चर्चमाथिको विश्वास पुनः स्थापना गर्न यसलाई अवसर मानेर आफूले सक्दो प्रयास गर्ने मङ्गलवार जनाएको छ।

उक्त चर्चले चिन्ता उत्पन्न भएकोमा सर्वसाधारण जनतासँग क्षमायाचना पनि गरेको छ।

अभियोग केके हुन्?

सरकारी अभियोजनकर्ताहरूले हानमाथि विभिन्न चार अभियोग लगाउँदै पक्राउपुर्जी जारी हुनुपर्ने माग गरेका थिए। ती अभियोगमा अनुचित सिफारिस, भ्रष्टाचार र व्यावसायिक हिनामिना पनि पर्छन्।

हानले सोमवार अदालतमा आफूलाई राजनीतिबारे रुचि र ज्ञान दुवै नभएको भन्दै ती अभियोगहरूको खण्डन गर्नुभयो। उहाँको उमेर र बिग्रँदो स्वास्थ्यस्थितिको कुरा उठाउँदै उहाँका वकिलहरूले उहाँको पक्राउविरुद्ध आफ्नो तर्क पेस गरे।

हानमाथि सो चर्चका एक पूर्वकर्मचारीसँग मिलेर सन् २०२२ को राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा कन्जर्भेटिभ पार्टीका सांसद क्वन सङ डोङलाई १० करोड वोन दिएको आरोप पनि लागेको छ। त्यो रकम यून राष्ट्रपति बनेमा भने चर्चको एउटा कार्यक्रममा उहाँलाई सहभागी हुन तयार पार्न दिन खोजिएको बताइएको छ। उक्त निर्वाचनमा यून राष्ट्रपति निर्वाचित पनि हुनुभयो।

क्वन तात्कालिक राष्ट्रपति यूनका विश्वासपात्र हुनुहुन्थ्यो। उहाँ गत साता बुधवार पक्राउ पर्नुभयो। यद्यपि उहाँले घुस लिएको आरोप अस्वीकार गर्नुभएको छ।

यूनिफिकेशन चर्च के हो?

यूनिफिकेशन चर्चको औपचारिक नाम द फ्यामिली फेडरेशन फर वर्ल्ड पीस एन्ड यूनिफिकेशन हो।

आफू मसिहा अर्थात् वा मुक्तिदाता भएको दाबी गर्दै मून सन-म्यङले सन् १९५० को दशकमा दक्षिण कोरियामा उक्त चर्च स्थापना गर्नुभएको थियो।

उक्त चर्चले सामूहिक विवाह गराउँदै आएको छ। चर्चले आयोजना गर्ने सामूहिक समारोहमा सहभागी हजारौँ जोडीले एकैपटक बिहे गर्छन्। तीमध्ये केहीको जोडी उक्त चर्चमार्फत् मिलेको हुन्छ।

केही आलोचकहरू उक्त चर्चका अनुयायीहरूको समूह छुट्टै सम्प्रदायजस्तो बनेको ठान्छन्।

वकिलहरूले उक्त चर्चले आफ्ना अनुयायीहरूलाई ठूलो मात्रामा दान दिन बाध्य पारेको आरोप लगाएका छन्। उक्त चर्चका संस्थापक मूनको नामबाट उनीहरूलाई बोलीचालीको भाषामा मूनी पनि भनिन्छ।

जापानमा पूर्वप्रधानमन्त्री शिन्जे आबेको हत्या भएपछि त्यहाँ यूनिफिकेशन चर्चबारे चर्चा चुलिएको थियो। सन्दिग्ध हत्याराले उक्त सम्प्रदायका कारण आफ्नो परिवार टाट पल्टिएको र आबेले यूनिफिकेशन चर्चको प्रवर्धन गरेकाले आफू उहाँसँग रुष्ट भएको दाबी गरेका थिए।

विश्वका विभिन्न देशमा उक्त समूहमाथि प्रतिबन्ध लागेको छ। जापानमा त्यसलाई विघटन गर्न आदेश दिइएको छ।

यूनिफिकेशन चर्च नेपालमा सन् १९७५ देखि सक्रिय भएको बताइन्छ। उक्त चर्चका नेता मूनले सन् २००५ मा नेपालको भ्रमण गर्नुभएको थियो।

सो चर्चले नेपालमा आयोजना गरेका सार्वजनिक कार्यक्रमहरूमा विभिन्न राजनीतिक दलका नेताहरू पनि सहभागी हुँदै आएका छन्।

यूनिफिकेशन चर्च के भन्छ ?

किम र क्वनसँग सम्बन्धित आरोपहरूबारे टिप्पणी गर्दै यूनिफिकेशन चर्चले आफ्ना भूतपूर्व कर्मचारीतिर औँला तेर्स्याएको छ। उपहार दिने काम ती व्यक्ति एक्लैले गरेको उसको तर्क छ।

ती व्यक्ति पनि पक्राउ परेका छन्।

गत महिना भूतपूर्व प्रथम महिला किममाथि विभिन्न अभियोगमा मुद्दा दायर भइसकेको छ। त्यस्ता अभियोगमा घुसखोरी र धितोपत्र बजारमा हिनामिना पनि संलग्न छन्। यद्यपि उहाँले आफूमाथि लागेका आरोपको खण्डन गर्नुभएको छ।

उनीविरुद्धको मुद्दामा यो साता सुनुवाइ सुरु भयो।

किम पक्राउ पर्दा उहाँका पति तथा पूर्वराष्ट्रपति यून पनि जेलमै हुनुहुन्थ्यो। दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपतिको दम्पती एकैपटक जेल पर्नुभएको हो।

दक्षिण कोरियामा सैन्य कानुन लागु गर्ने प्रयास विफल भएपछि यूनमाथि लागेको छुट्टै मुद्दाको सुनुवाइका क्रममा उहाँ गत ज्यानुअरी महिनामा पक्राउ पर्नुभएको थियो।

गत वर्ष दक्षिण कोरियामा विकसित अनपेक्षित घटनाक्रमपछि देशमा अन्योल उत्पन्न भएको थियो। अन्ततः यूनमाथि महाभियोग लाग्यो र उहाँ पदमुक्त हुनुभयो।

Share Now