Prakash Adhikari September 24, 2025

 

रुथ कमरफोर्ड र एन्थनी जर्चर

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ८ असोज(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किएभले पूरै युक्रेन मूल स्वरूपमा हासिल गर्न सक्ने बताउनुभएको छ। उहाँको यो भनाइले रुस(युक्रेन युद्धबारे उहाँको अडानमा महत्त्वपूर्ण परिवर्तन आएको सङ्केत गर्छ।

आफ्नो सामाजिक प्ल्याटफर्म ‘ट्रूथ सोसल’मा लेख्दै उहाँले युरोप र नेटोको सहयोगमा, रुसी अर्थतन्त्रमा परेको दबावका कारण युक्रेनले ‘युद्ध सुरु हुँदाको बेलाको सीमाको स्वरूपमा फिर्ता पाउन सक्ने’ बताउनुभएको हो।

मङ्गलवार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गरेपश्चात् युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी भएसँगै उहाँको यो टिप्पणी आएको हो।

ट्रम्पले बारम्बार युद्ध समाप्त गर्ने इच्छा व्यक्त गर्दै आउनुभएको छ। यद्यपि यसअघि उहाँले उक्त प्रक्रियामा युक्रेनले केही क्षेत्र छाड्नु पर्ने सम्भावना हुने बताउनुभएको थियो र जेलेन्स्कीले त्यसमा लगातार विमति राख्दै आउनुभयो।

उक्त पोस्टमा ट्रम्पले युक्रेन ‘त्यसभन्दा पनि अघि बढ्न सक्ने’ सम्भावना औँल्याउनुभएको छ तर त्यसो भनेर उहाँले के कुरातर्फ सङ्केत गर्न खोज्नुभएको हो भन्ने खुलाउनुभएको छैन।

त्यस्तै उहाँले क्राइमियाबारे पनि बोल्नुभएको छैन। सन् २०१४ मा उक्त क्षेत्रमाथि आक्रमण गरेर कब्जा जमाएको रुसले सन् २०२२ बाट युक्रेनविरुद्ध पूर्ण युद्ध थालेको थियो।

ट्रम्पले ‘युक्रेन र रुसको सैन्य तथा आर्थिक स्थितिबारे पूरै बुझेपछि’ आफ्नो दृष्टिकोणमा परिवर्तन आएको बताउनुभएको छ ।

“पुटिन र रुस ठूलो आर्थिक सङ्कटमा छन् र यो युक्रेनले काम गर्ने समय हो”, रुसलाई कागजी बाघको संज्ञा दिँदै उहाँले थप्नुभएको छ।

जेलेन्स्की के भन्नुहुन्छ ?

जेलेन्स्कीले ट्रम्पको धारणामा आएको ठूलो परिवर्तनको सराहना गर्नुभएको छ। उहाँले युद्ध समाप्त भएपछि अमेरिकाले युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन चाहेको आफूले बुझेको बताउनुभएको छ ।

त्यसलाई प्रस्ट्याउन गरिएको आग्रहमा उहाँले भन्नुभयो, “म झुटो बोल्न चाहन्नँ, हामीसँग विशिष्ट विवरणहरू छैनन्।” त्यसो भन्दै गर्दा उहाँले थप हतियार, हवाई प्रतिरक्षा र ड्रोनहरूको सम्भावनातर्फ सङ्केत गर्नुभयो ।

पछि फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनसम्बन्धी अडानबारे ट्रम्पको ट्रूथ सोसलमा व्यक्त धारणाले आफूलाई पनि अचम्भित पारेको तर त्यसलाई आफूले ूसकारात्मक सङ्केतूका रूपमा लिएको बताउनुभयो। साथै उहाँले ट्रम्प र अमेरिका युद्ध अन्त्य हुँदासम्म युक्रेनको साथमा खडा हुने पनि बताउनुभयो।

“पुटिनले धेरैपटक राष्ट्रपति ट्रम्पसँग झुटो बोलेका कारण पनि हामीबीच भिन्नता पैदा गर्‍यो भन्ने मलाई लाग्छ”, फक्स न्यूजका प्रस्तोतासँग युक्रेनी राष्ट्रपति जेलेनेस्कीले भन्नुभयो।

त्यसअघि मङ्गलवार संयुक्त राष्ट्रसङ्घको सम्बोधनपछि ट्रम्पले नेटो देशहरूले आफ्नो हवाई क्षेत्रहरू उल्लङ्घन गर्ने रुसी जहाजहरूलाई खसाल्नु पर्ने बताउनुभएको थियो।

मङ्गलवारको बैठकपछि नेटोले एउटा वक्तव्यमार्फत् रुसले हवाई क्षेत्र उल्लङ्घन गरेकोमा त्यसको निन्दा गर्दै ‘सबै किसिमका सैन्य र गैरसैन्य उपायहरू’ अपनाउन सक्ने चेतावनी दिएको थियो।

‘ट्रूथ सोसल’मा ट्रम्पको मङ्गलवारको पोस्टले उहाँको धारणामा ठूलो परिवर्तन आएको दर्शाउँछ। यसअघि उहाँले वर्षभरजसो युक्रेनको स्थिति निकै गम्भीर रहेको बताउँदै आउनुभएको थियो।

गत फेब्रुअरीमा जेलेन्स्कीसँग ओभल अफिसमा भएको तिक्ततापूर्ण कुराकानीमा ट्रम्पले त्यति ठूलो र धेरै जनसङ्ख्या भएको देशसँगको युद्धमा जित हासिल गर्न युक्रेनसँग ‘तत्काल कुनै बाटो नभएको’ बताउनुभएको थियो।

त्यस्तै अगस्टमा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नुअघि अमेरी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको केही भूमि फिर्ता गर्न कोसिस गर्ने तर त्यस क्रममा ूकेही सट्टापट्टा तथा भूमिमा परिवर्तन हुन सक्नेू बताउनुभएको थियो ।

त्यतिबेला उहाँले जेलेन्स्कीलाई डोनेट्स्क र लुहान्स्क पूर्ण रूपले त्याग्न र त्यसको सट्टामा रुसले बाँकी युद्धमोर्चाको कारबाही रोक्ने विषयमा दबाव दिने योजना बनाएका विवरणहरू आएका थिए। उक्त प्रस्ताव अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रस्ताव गरेको भनिएको थियो।

सँगसँगै ट्रम्पले बारम्बार रुसविरुद्ध कडा उपाय अपनाउने चेतावनी दिँदै आउनुभएको छ तर रुसले उहाँले दिएका समयसीमा र प्रतिबन्धको चेतावनीलाई बेवास्ता गर्दा पनि कुनै कदम चाल्न अहिलेसम्म विफल हुनुहुन्छ।

ट्रम्पले आफ्नो अभिव्यक्तिलाई जसरी बिट मार्नुभएको छ, सायद त्यो नै यसको सबैभन्दा ध्यान दिनुपर्ने हिस्सा हो। त्यसमा अमेरिकाले नेटोलाई हतियार बेच्न जारी राख्ने आश्वासन छ जुन युक्रेन पठाउन सकिने छ।

यो बाइडन प्रशासनले युक्रेनको युद्धमा जनाएजस्तो खुला प्रतिबद्धता जस्तो देखिँदैन तर ट्रम्पले यसअघि देखाएका रुचीभन्दा निकै अधिक भने हो।

Share Now