भारतीय अदालतले डाक्टरहरूलाई अक्षर सुधार्न दियो आदेश ! प्रेस्क्रिप्सन क्यापिटल अक्षरमा लेख्नुपर्ने !!
गीता पाण्डे । बीबीसी न्यूज, दिल्ली
नयाँदिल्ली(भारत), १८ असोज । धेरैजसो मानिसहरूले लेख्नका लागि किबोर्डको प्रयोग गर्ने समयमा के हातले लेख्नुले केही अर्थ राख्छ?
राख्छ, भारतीय अदालतले भनेको छ: यदि लेखक डाक्टर हो भने पक्कै राख्छ।
धेरै डाक्टरहरूको लेखाइ केवल औषधि पसलमा बस्ने फार्मासिस्टहरूले मात्रै बुझ्न सक्छन् भनेर ठट्टा नै गरिन्छ। तर स्पष्ट हस्तलेखनको महत्त्वमा जोड दिने पछिल्लो आदेश हालै पन्जाब र हरियाणा उच्च अदालतले जीवन र मृत्युबीच फरक पार्न सक्ने भन्दै ‘पढ्न सकिने चिकित्सा प्रेस्क्रिप्शन एउटा मौलिक अधिकार हो’ भनेको छ।
अदालतको उक्त आदेश त्यस्तो मुद्दामा आएको छ जुन डाक्टरको प्रेस्क्रिप्शनसम्बन्धी होइन। उक्त मुद्दामा एउटी महिलाद्वारा बलात्कार, धोखाधडी र जालसाजीको आरोप लगाइएको थियो र न्यायाधीश जसगुरप्रीत सिंह पुरीले जमानतको लागि पुरुषको निवेदनमाथि सुनुवाइ गरिरहेका थिए।
ती महिलाले सरकारी जागिर दिने वाचा गर्दै ती पुरुषले आफूसँग पैसा लिएको र नक्कली अन्तर्वार्ता गरेर यौन शोषण गरेको आरोप लगाएकी थिइन्।
अभियुक्तले आरोप अस्वीकार गरेका छन्। उनले सहमतिमा सम्बन्ध रहेको र पैसाको विवादका कारण मुद्दा हालिएको बताएका छन्।
न्यायाधीश पुरीले जब आफूले महिलाको जाँच गर्ने सरकारी डाक्टरले लेखेको रिपोर्ट हेर्नुभयो तब उहाँले लेखिएको कुरा बुझ्न सक्नुभएन ।
उहाँले आदेशमा लेख्नुभएको छ, “यसले अदालतको अन्तस्करणलाई हल्लायो किनकि एक शब्द वा पत्र पनि पढ्न सकिएन।”
बीबीसीले फैसलाको प्रतिलिपि हेरेको छ जसमा रिपोर्ट र दुई पृष्ठको प्रेस्क्रिप्शन समावेश गरिएको छ जसमा डाक्टरको पढ्न नसकिने अक्षर छ।
न्यायाधीश पुरीले लेख्नुभएको छ, “प्रविधि र कम्प्युटर सजिलै उपलब्ध हुने यो समयमा सरकारी डाक्टरहरू अझै हातले प्रेस्क्रिप्सन लेखिरहनु आश्चर्यको कुरा हो, जुन केही केमिस्टबाहेक कसैले पढ्न सक्दैनन्।”
अदालतले चिकित्सा पढाइ हुने विद्यालयहरूको पाठ्यक्रममा हस्तलेखनसम्बन्धी पाठहरू समावेश गर्न र डिजिटल प्रेस्क्रिप्सनमा परिवर्तित हुन दुई वर्षको समय सीमा तोक्न सरकारलाई आदेश दिएको छ।
त्यसो नभएसम्म सबै चिकित्सकले प्रेस्क्रिप्सन क्यापिटल अक्षरमा लेख्नुपर्ने न्यायाधीश पुरीले आदेशमा उल्लेख गर्नुभएको छ।
इन्डियन मेडिकल एसोसिएसनका अध्यक्ष डा. दिलीप भानुशालीले बीबीसीसँग भन्नुभयो, “हामी यो समस्याको समाधान खोज्न सहयोग गर्न तयार छौं।” उक्त एसोसिएसनमा ३ लाख ३० हजारभन्दा बढी चिकित्सक सदस्य छन्।
शहर र ठूला नगरहरूमा डाक्टरहरू डिजिटल प्रेस्क्रिप्शन दिन थालेका भए पनि ग्रामीण क्षेत्र र साना शहरहरूमा स्पष्ट प्रेस्क्रिप्शन पाउन धेरै गाह्रो रहेको डाक्टर भानुशालीले बताउनुभयो।
उहाँ भन्नुहुन्छ, “धेरै डाक्टरको हस्तलेखन नबुझिने हुनु सर्वविदित तथ्य हो तर यसको कारण के हो भने अधिकांश चिकित्सकहरू धेरै व्यस्त हुन्छन्, खासगरी सरकारी अस्पतालमा भिडभाड हुन्छ।”
“हामीले हाम्रा सदस्यहरूलाई सरकारी निर्देशिकाहरू पालना गर्न र क्यापिटल अक्षरमा प्रेस्क्रिप्सन लेख्न सिफारिस गरेका छौँ जुन बिरामी र केमिस्ट दुवैले पढ्न सक्ने हुनु पर्छ। एक दिनमा सातजना बिरामी हेर्ने डाक्टरले यो गर्न सक्छ, तर यदि तपाईँ एक दिनमा ७० जना बिरामीहरू हेर्नुहुन्छ भने तपाईँ यो गर्न सक्नुहुन्न”, उहाँ थप्नुहुन्छ।
भारतीय अदालतले डाक्टरहरूको अक्षर चिन्न नसक्ने विषयमा बोलेको यो पहिलो पटक होइन। विगतका उदाहरणहरूमा ओडिशा राज्यको उच्च अदालतले ‘डाक्टरहरूको लेख्ने घुमाउरो शैली’ र इलाहाबाद उच्च अदालतका न्यायाधीशहरूले ‘यस्तो भद्दा हस्तलेखनमा लेखिएका रिपोर्टहरू जुन बुझ्न सकिँदैन’ भनेर निराशा व्यक्त गरेका थिए।
डाक्टरहरूको हस्तलेखन अरूको भन्दा खराब हुन्छ भन्ने परम्परागत मान्यतामाथि गरिएको अध्ययनहरूले त्यस्तो देखाउन्नन्।
तर विज्ञहरूले उनीहरूको जोड राम्रो अक्षरमा नभई चिकित्सकले लेखिदिने प्रेस्क्रिप्सनले निम्त्याउन सक्ने अस्पष्टता वा गलत व्याख्या हुनसक्ने र त्यसबाट गम्भीर र दुखद् परिणामहरू हुन सक्नेप्रति रहेको बताएका छन्।
सन् १९९९ मा इन्स्टिट्यूट अफ मेडिसिन (आइओएम) को एउटा प्रतिवेदन अनुसार, चिकित्सकीय गल्तीका कारण अमेरिकामा वार्षिक रूपमा अनुमानित ४४,००० रोकथाम गर्न सकिने मृत्यु भएको थियो जसमध्ये ७,००० बुझ्न नसकिने हस्तलेखनको कारण रहेका थिए।
हालसालै, स्कटल्यान्डमा एक महिलालाई सुक्खा आँखाको अवस्थाको लागि गल्तीले ‘इरेक्टाइल डिसफङ्क्शन क्रीम’ दिएपछि रासायनिक असर गर्यो।
यूकेका स्वास्थ्य अधिकारीहरूले ‘औषधिको त्रुटिले क्षति र मृत्युको डरलाग्दो स्तर निम्त्याउने’ र ‘धेरै अस्पतालहरूमा इलेक्ट्रोनिक प्रेस्क्राइबिङ प्रणाली ल्याउँदा त्रुटिहरू ५० प्रतिशतले कम गर्न सक्ने’ स्वीकार गरेका छन्।
भारतमा चिकित्सकले लेखेको नबुझिने अक्षरका कारण हुने क्षतिको तथ्याङ्क छैन तर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा विगतमा प्रेस्क्रिप्सनको गलत अध्ययनले स्वास्थ्य सङ्कट परेको र धेरैको मृत्यु भएको छ।
यो विषयमा धेरै चर्चामा आएको एक महिलाको घटना छ -दुखाइ कम गर्ने औषधी दिनुपर्ने थियो जसको नाम मधुमेहका लागि खाइने औषधीजस्तै सुनिन्थ्यो, औषधी फरक परेपछि उनी बेहोस भएकी थिइन्।
दक्षिणी भारतीय राज्य तेलङ्गानाको नलगोन्डा शहरमा फार्मेसी सञ्चालन गर्ने चिलुकुरी परमात्माले बीबीसीसँग कुरा गर्दै सन् २०१४ मा नोयडामा तीन वर्षीया बालिकालाई ज्वरो आउँदा गलत सुई लगाएर मृत्यु भएको समाचार पढेपछि उनले हैदराबादको उच्च अदालतमा सार्वजनिक सरोकारको मुद्दा दर्ता गरेको बताउनुभयो।
सन् २०१६ मा मेडिकल काउन्सिल अफ इन्डियाले ‘प्रत्येक चिकित्सकले जेनेरिक नामका औषधिहरू स्पष्ट र ठूला अक्षरमा लेख्नुपर्ने ‘ आदेश दिएको थियो।
सन् २०२० मा भारतका स्वास्थ्य मन्त्री अश्विनीकुमार चौबेले संसद्मा आदेश उल्लङ्घन गरेका कारण चिकित्सकविरुद्ध अनुसन्धानात्मक कारबाही गर्ने अधिकार राज्यका चिकित्सा अधिकारीहरूलाई दिइएको बताएका थिए।
तर झन्डै एक दशकपछि पनि चिलुकुरी र अन्य फार्मासिस्टहरूले खराब तरिकाले लेखिएको प्रेस्क्रिप्सन उनीहरूको पसलहरूमा आइरहेको बताएका छन्। चिलुकुरीले विगत केही वर्षयताका केही त्यस्ता प्रेस्क्रिप्सनहरू बीबीसीलाई पठाउनुभएको छ जुन उहाँले पनि बुझ्न सक्नुभएको छैन ।
पश्चिम बङ्गालका शहर, नगर र गाउँहरूमा २८ वटा शाखाहरू भएका र दैनिक ४,००० भन्दा बढी ग्राहकहरूलाई सेवा दिने कोलकाता शहरको सबैभन्दा प्रसिद्ध फार्मेसीहरू मध्येको एक धनवन्तरीका सीईओ रवीन्द्र खण्डेलवाल कहिलेकाहीँ उहाँ कहाँ आउने प्रेस्क्रिप्सनहरू पढ्नै नसक्ने हुने बताउनुहुन्छ।
“वर्षौंयता हामीले शहरहरूमा हस्तलिखितबाट प्रिन्ट गरिएको प्रेस्क्रिप्शनमा परिणत भएको देखेका छौँ, तर ग्रामीण क्षेत्रहरूमा धेरै जसो अझै पनि हस्तलिखित नै हुन्छन्।”
उहाँका कर्मचारीहरू धेरै अनुभवी रहेको र ग्राहकहरूले सही औषधी पाउने सुनिश्चित गर्न सक्ने उहाँ बताउनुहुन्छ।
“तैपनि, कहिलेकाहीँ हामीले डाक्टरहरूलाई फोन गर्नुपर्ने अवस्था आउँछ किनकि सही औषधि दिनु धेरै महत्त्वपूर्ण छ।”


















