काठमाडौं, १९ असोज । आईसीसी टी २० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले ओमानसँगको अभ्यास खेलमा शानदार जित हासिल गरेको छ ।
ओमानको मस्कटमा शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालद्धारा ६ विकेटले ओमान पराजित भएको थियो ।
मस्कटको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिड. गरेको ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर १७ ओभरमा पूरा गरेको थियो।
नेपालको जितमा आसिफ शेखले ६१ रनको शानदार ईनिङ्स खेले । रोहित पौडेलले २५ र कुशल भुर्तेलले ११ रन बनाए । कुशल मल्ल १० र सन्दीप जोरा १ रनमा नटआउट रहे ।
पहिले ब्याटिङ उत्रिएको २० ओभरको निर्धारित खेलमा ओमानले ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो ।
ओमानलाई सस्तैमा समेट्न सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई दुई विकेट लिएका थिए ।
आईसीसी टी २० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टिम ओमानमा रहेको छ ।
नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर सिक्समा छनोट हुनेछ ।
सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी २० विश्वकपमा स्थान बनाउने छन् ।


















