Prakash Adhikari October 6, 2025
बागमती, २० असोजः अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् ।
सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।
भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उहाँको भनाइ छ ।
यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
रिडी–तम्घास सडक खुल्यो
 सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक  खुलेको छ ।
उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको चट्टान सहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ ।
–––
Share Now