मस्कट(ओमान), २० असोज। आईसीसी टी २० विश्वकप छनोटको लागि ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा कतारमाथि शानदार जित निकालेको छ।
सोमबार ओमानको मस्कटस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले सोमबार कतारलाई १६ रनले पराजित गरेको हो।
नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ५४ रन मात्र बनाउन सक्यो।
कतारका लागि मुहम्मद तनविरले सर्वाधिक ५१ रन बनाए। मोहम्मद ब्रइगले ४० र मुहम्मद असीमले ३० रन बनाए।
कतारलाई रोक्ने क्रममा नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए।
त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। कुशल मल्ल र दीपेन्द्रले समान ३८ । ३८ रनको योगदान दिए।
नेपाललाई रोक्ने क्रममा कतारका शारिक मुनिर र इक्रामुल्लाहले समान २ । २ विकेट लिए।
यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गरेको थियो।


















