Prakash Adhikari October 7, 2025

क्वाललम्पुर(मलेशिया), २१ असोज । मलेशियाको भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आतिथेय राष्ट्रको टिमलाई चौथो खेलमा पराजित गरेको छ ।

मंगलवार सम्पन्न चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।

आजको खेलमा जितको लागि १ सय १२ रनको लक्ष्य पाएको नेपालले २० ओभरको निर्धारित खेलमा १७.३ ओभरमा ४ विकेट गुमाउँदै १ सय १५ रन जोडेर घरेलु टिमलाई पराजित गरेको हो ।

नेपालले सुरुवात राम्रो गर्न सकेन । ओपनर रुवी पोद्दार ५ रनमा, सम्झना खड्का ११ रनमा र पूजा महतो मात्र ७ रनमा आउट भए। यतिखेर नेपालले ३५ रन बनाएको थियो। कविता कुँवर पनि १६ रनमा आउट भइन्।

त्यसपछि कप्तान इन्दु बर्मा र रुविना क्षेत्रीले महत्वपूर्ण साझेदारी गदै नेपाललाई जिततर्फ डोर्याए। ३९ बल खेल्दै इन्दुले ५ चौका सहित अविजित ४८ रनको पारी खेलिन्।

रुविनाले २३ बल खेल्दै २ चौका र १ छक्का सहित अविजित २३ रन बनाइन्। आजको यो खेलमा एक मात्र छक्का रुविनाले प्रहार गरिन्।

नेपाललाई रोक्ने क्रममा मलेशियाका आइना हमिजा, नुर दानिया र माहिरा इजातिले १ । १ विकेट लिए।

त्यसअघि मलेसियाको वायुमास ओभल स्टेडियममा टस जितेर मलेसियाले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। उसले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ११ रन बनायो।

मलेसिया विरुद्ध नेपालले सानदार सुरुवात गर्यो। दुई ओपनर आइना हमिजाह हसिम र वान जुलिया रनको खाता नखोली आउट भए।

आइना कविता कुँवरको बलमा कट एण्ड बोल्ड हुँदा वानलाई पूजाले बोल्ड आउट गरिन्। लगतै कप्तान विनिफ्रेड डुरासिंगम २ रनमा नै इन्दुको बलमा आउट भइन्। पहिलो क्रमका ३ ब्याटर आउट हुँदा मलेसियाले २० रन बनाएको थियो।

त्यसपछि मास इलिस्या र माहिरा इजातिले चौथो विकेटका लागि ४८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। माहिरा १८ रनमा आउट भइन।

नुर दानियाले १५ रन जोडिन्। मास क्रिजमा जम्दै अर्धशतक बनाउन सफल भइन्। उनले ६३ बलमा ५ चौकासहित अविजित ५६ रन बनाइन।

मलेशियालाई रोक्न नेपालकी कविता कुँवरले ४ ओभरमा १० रन दिएर ३ विकेट लिंदै किफायती प्रदर्शन गरिन्। पूजा र कविता जोशीले समान १ । १ विकेट लिए।

यसअघि मलेसियाले पहिलो खेल ३ विकेट र तेस्रो खेल १३ रनको जितको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। नेपालले आज ६ विकेटको विजय निकालेसंग श्रृखला २ २ को बराबरीमा पुगेको छ । अब बुधबार हुने अन्तिम तथा पाँचौ खेल नै निर्णायक हुने भएको छ ।

Share Now